विश्व शारीरिक सुगठनमा नेपाल

weight lifting
छैटौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार भारतको मुम्बइ प्रस्थान गर्दैछ ।
मंसिर १९ देखि २४ गतेसम्म हुने च्याम्पियनसिपको शारीरिक सुगठनतर्फ पुरुषको ५५ केजीमा रुजेश शाही, ६० केजीमा रामहरि खनाल तथा ७० केजीमा महेश्वर महर्जनले प्रतिस्पर्धा गर्नेछन् । रामहरि वर्तमान मिस्टर हिमालय र महेश्वर वर्तमान मिस्टर धर्मश्री उपाधि विजेता हुन् ।
त्यस्तै फिट्नेस फिजिक्सअन्तर्गत १७० सेन्टीमिटर उचाइसम्मका पुरुषको प्रतिस्पर्धामा विमललाल श्रेष्ठले सहभागिता जनाउनेछन् ।
सन् २०१० मा च्याम्पियनसिपको दोश्रो संस्करणमा श्याम श्रेष्ठलेकांस्य पदक जितेका थिए । त्योनै विश्व च्याम्पियनसिपमा नेपालले हासिल गरेको एक मात्र र सबैभन्दा ठूलो उपलब्धी हो ।
टोलीको नेतृत्व नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले गर्नेछन् । संघका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक दिनेश राजभण्डारीले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । त्यस्तै अन्तर्राष्ट्रिय सर्टिफिकेसनका लागि संघका सदस्य एवं राष्ट्रिय निर्णायकद्वय ईश्वरमान श्रेष्ठ र सुनील राजकर्णिकार पनि टोलीसंगै जाने कार्यक्रम छ ।
टोलीलाई सफलताको शुभकामना दिदै संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका डिआईजी विजयलाल कायश्थ र राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले बिहीबार बिदाइ गरे ।

Comment