शानदार कम ब्याक सहित पिएसजीले जित्यो उपाधि

Manoj Shiama
14 August, 2025 7:33 am

पेरिस सेन्ट जर्मनले शानदार कम ब्याक गर्दै युरोपेली सुपर कपको उपाधि जितेको छ । खेलको ८४ औ मिनेटसम्म २–०ले पछि रहेको पिएसजी त्यस पछि खेलमा फकिएको हो । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको सो खेलमा पिएसजीले पेनाल्टी सुट आउटमा टोटनहाम हस्टस्पर्सलाई ४–३ ले हरायो । 

९४ औ मिनेटमा नाटकीय रूपमा गोन्कालो रामोसको गोलमा बराबरी भए पछि सिधै पेनाल्टीमा गएको थियो ।भिटिन्हाले प्रहार गरेको पिएसजीको पहिलो प्रहार बाहिरिएको थियो । यसको लगत्तै टोटनहामका मिक्की भान डेन भेनको प्रहार पिएसजीका गोलरक्षक लुकास केभिलियरले बचाएका थिए । भान डेनकै गोलमा टोटनहामले ३९ औ मिनेटमा पहिलो अग्रता लिएको थियो । 

नुनोमेन्डेसले पिएसजीका लागि विजयी प्रहार गर्नु  अघि टोटनहामका म्याथी टेलको प्रहार बाहिरिएको थियो । इटालीको युडिनमा भएको खेलको दोस्रो हाफको सुरुवातमा नै क्रिस्चियन रोमेरोको गोलमा टोटनहामले दोस्रो अग्रता लिएको हो । ८५ औ मिनेटमा ली काङले २० यार्ड बाट शानदार प्रहार गर्दै पिएसजीलाई कम ब्याक गराएका थिए ।