बडीखेलमा कराते हुदै

प्रथम वडा अध्यक्ष कप खुल्ला राष्ट्रिय कराते प्रतियोगिता शुक्रबार र शनीबार गोदावरी नगरपालिका बडिखेल स्थित पथ प्रदर्शक मावि प्राङ्गणमा हुने भएको छ । गोदावरी नगरपालिकाका सम्पूर्ण १४ वडाको वडाअध्यहरुको पहिचान र सम्मान स्वरुप गोदावरी नगरपालिका वडा नं.४ र बडीखेल शाखाको आयोजनामा राष्ट्रिय कराते प्रतियोगिता हुन लागेको हो । गोदावरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष मुकुन्द बहादुर पहरीको संयोजकत्वमा कराते खेलका प्रशिक्षकहरु र सामाजिक क्षेत्रमा अगुवा युवाहरू सहितको मूल आयोजक समिति गठन गरिएको छ । आफु कराते खेलको प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद्को पूर्व बोर्ड सदस्य समेत रहेको हुँदा आफ्नो वडामा खेलकुदलाई विशेष प्राथमिकतामा राखेकोले प्रतियोगिता आयोजना गर्न लागेको वडाअध्यक्ष पहरीले बताए ।
लामो समय देखि सक्रिय बडीखेल शाखा डोजोमा प्रशिक्षणरत खेलाडीहरुले प्रतियोगिताबाट आफूलाई निखार्ने वडाअध्यक्ष पहरीले बताए ।
नेपाल कराते महासंघ अन्तर्गत रहेका अफिसियल करातेका केही राष्ट्रिय संघका टिमहरु, विभिन्न जिल्ला टिमहरु, शाखा डोजोहरुका खेलाडीहरुको सहभागिता जनाउने छन् । प्रतियोगितामा महिला १२० र पुरुष १५५ गरि जम्मा ३५५ जना खेलाडीहरुले कुमिते र काता ईभेन्ट गरि २४ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछ ।
कराते प्रतियोगिताका साथै सँगै करातेका विविध रोचक खेल प्रस्तुतिहरु, विविध सांस्कृतिक प्रस्तुतिहरु, पहरी समुदायको सांस्कृतिक झाँकीहरु समे प्रस्तुत गरीने उक्त राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन जलस्रोत, उर्जा तथा सिंचाइ मन्त्री बर्षमान पुनले गर्ने छन् । प्रतियोगितामा सहभागी खेलाडी, निर्णायक तथा प्रशिक्षकहरुलाई खाद्य, आवास र यातायातको व्यवस्था लगायतका सम्पूर्ण खर्च आयोजक समितिले व्यहोर्ने छ । कार्यक्रमको अनुमानित खर्च १५ लाख रुपैया रहेको छ ।

Comment