महिला यूथ टोलीको बिदाइ

भुटानमा २० देखि ३१ अगस्टसम्म आयोजना हुने साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले बिदाइ गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार टोलीलाई बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा एन्फा कार्य समिति सदस्य पुरुषोत्तम थापा, र विकास नारायण श्रेष्ठको साथमा उप महासचिव बद्री भट्टराई, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर र प्राविधिक निर्देशक हरि खड्का लगायतले बिदाइ गरे ।
डबल राउन्ड रोबिनमा हुने प्रतियोगितामा नेपाल, भारत,भुटान र बङ्गलादेशको सहभागिता छ ।
नेपालले २० अगस्टमा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने छ । सहभागी नेपाली टोलीको गोलरक्षकमा झरना डुमरकोटी, लक्ष्मी वली र गङ्गा गुरुङ छन् । यसै गरी, रक्षकमा दीक्षा रायमाझी, सम्झना चन्द, एजिला कुमारी विके, ग्यान्सु डोल्मा लो, पूर्णिमा टाडी, अनु माझी, मीनमाया श्रेष्ठ र अंशु विक छन् ।
टोलीको मिड्फिल्डरमा डिकी स्यान्बो तामाङ, कृतिसा तामाङ, रबिना विके, सहारा लिम्बु, बब्तिका कार्की, भूमिका उब्धाकोटी आसिका कार्की र सृजना बडूवाल छन् । फरवार्डमा अस्मिता मगर, यम कुमारी विके, अनिता राना मगर र दीक्षा रनपाल छन् ।