ओसिका र शेरबहादुरले जिते स्वर्ण


सिन्धुलीकी ओसिका के.सी. र बागुलुङ्गका शेर बहादुर मगरले प्रथम कुराँश प्रतियोगितामा स्वर्ण हात पार्न सफल भएका छन् । ओसिकाले ४८ केजी तौल समूहमा आफ्ना प्रतिद्वन्दिहरुलाई पाखा लगाउँदै स्वर्ण हात पार्न सफल भएकी हुन् । यस्तै पुरुष ५५ केजी तौलमा शेरबहादुरले स्वर्ण हात पार्न सफल भएको नेपाल कुराँश संघका अध्यक्ष ध्रुव राज न्यौपानले जानकारी दिए ।
कपनस्थित बालउद्धार मा.बि.को हलमा भएको प्रतियोगितामा महिला तर्फको ५२ केजीमा सिन्धुपाल्चोककी सविता पण्डित, ५७ केजीमा बागलुङ्गकी कृति शर्मा, ६३ केजीमा खोटाङ्गकी कविता राई र ७८ केजीमा भक्तपुरकी जयन्ति श्रेष्ठ आ आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै स्वर्ण हात पार्न सफल भएका छन् ।
यस्तै पुरुष तर्फको ६० केजीमा बागलुङ्गका उमेश मगर, ६६ केजीमा सोलुखुम्बुका आशिष खुलुङ्ग राई र ७३ केजीमा काठमाण्डौका उपेन्द्र थापाले स्वर्ण हात पारे । महिला तर्फ ५ र पुरुष तर्फ ४ गरि कुल ९ स्वर्ण पदकका लागि १३ जिल्लाका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले उद्घाटन गरेका थिए । संघका अध्यक्ष ध्रुव न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा राखेप प्रतियोगिता तथा योजना विभागका प्रमुख रिम रानाभाट, राष्ट्रिय टिम तयारीका प्रमुख अर्जून बि.क.को उपस्थिती रहेको थियो ।

Comment