भक्त राना स्मृति चेस प्रतियोगिताको तयारी तीव्र

भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता ११ र १२ भदौमा हुने भएको छ । प्रतियोगिता अखिल नेपाल बुद्धिचाल सङ्घ र नेसनल स्पोट्र्स एकेडेमीको आयोजनामा हुन लागेको हो । १९०० भन्दा कम रेटिङका खेलाडीको मात्र सहभागिता रहने सो प्रतियोगितामा स्वदेशी र विदेशी गरी २०० जनाले भाग लिने जनाइएको छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक अखिल नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष दिपेन राईले जानकारी दिए । प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गर्ने छन् । प्रतियोगिता सिनामंगल स्थित होटेल रोयल एयरपोर्टमा हुने छ ।
काठमाडौँमा आयोजना हुने बुद्धिचाल प्रतियोगिताको पुरस्कार राशि २ लाख ४ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको लागत ११ लाख ४३ हजार रुपैयाँ छ । बाल्यकाल देखि खेलकुदमा चासो राख्ने गरेका रानाको गत वर्ष निधन भएको हो । उनी कम उमेरमै समाज परिवर्तनका लागि माओवादी युद्धमा सरिक थिए ।
आयोजक अखिल नेपाल बुद्धिचाल संघले विगतमा पनि स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ । साथै चेस खेलको विकासमा समर्पित यो संस्थाले विगतमा आयोजना गरेका हरेक प्रतियोगिता व्यवस्थापकीय रूपले उत्कृष्ट ठहरिएका थिए ।