नेपाली यु–२० महिला रग्बी टोली घोषणा 

Manoj Shiama
4 August, 2025 9:10 pm

काठमाडौं, साउन १८– नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप का लागि नेपाली यु–२० महिला रग्बी टोली घोषणा गरेको छ । 

भारतमा आगामी साउन २४ देखि २७ गतेसम्म एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप  २०२५ आयोजना हुँदै छ । यसै च्याम्पियनसिप का लागि रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो । पछिल्लो संस्करण यस उमेर समूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो । यसपल्टमा भने भारतले आयोजना गर्न लागेको हो । नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की बलम्पाकी मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोशना पोखरेल, पूजा डङ्गोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रामिरा शाही छिन् । सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली यु–२० महिला रग्बी टोली छनोट भएको हो ।

नेपाली टोलीले हाल सर्लाहीको राधाकृष्ण खेलमैदानमा प्रशिक्षण गरिरहेको नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले जानकारी दिए । प्रतियोगिता हुने भारतको मौसमसँग मिल्ने गरी टोलीलाई पछिल्ला एक महिनादेखि प्रशिक्षणमा राखिएको महासचिव घिमिरेले बताए । यो टोली प्रतियोगितामा सहभागी हुन आगामी साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यस च्याम्पियनसिप मा एसियाका विभिन्न ११ राष्ट्रबाट आठ वटा महिला र आठ वटा पुरुष यु–२० टोलीले प्रतिस्पर्धा गर्दै छन् । बिहारस्थित राजगीर स्पोर्ट्स कम्प्लेक्समा  प्रतियोगिता सञ्चालन हुने रग्बी संघले जनाएको छ ।