राष्ट्रिय मिनी स्केट म्याराथन हुने

द स्केट ल्यान्डको आयोजनामा तथा नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ सङ्घको सहकार्यमा आगामी असोज ४ गते गोकर्णमा पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।
काठमाडौं सुन्दरी जलको आलापोटबाट सुरु भई गोकर्ण तालिम चोकमा सम्पन्न हुने उक्त प्रतियोगिता ५ किलोमिटरको दूरी रहेको छ ।
प्रतियोगितामा नेपाल, भारत र दुबईका गरी दुई सय खेलाडीहरूले सहभागिता जनाउने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक द स्केट ल्यान्डका संस्थापक अब्राहिम राईले बताए । नेपालमा पहिलो पटक इनलाइन स्केटिङको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा स्वर्ण विजेताले ५० हजार रुपैंया स्केट सुज, सेफ्टी गियर, रजत पदक प्राप्त गर्नेले ३० हजार र स्केट सुज तथा कांस्य पदक प्राप्त गर्नेले १५ हजार रुपैंया र सेफ्टी गियर प्राप्त गर्नेछ ।
नेपालमा हाल सञ्चालनमा रहेको ३०० भन्दा बडी स्केट पार्कमा रहेका उत्कृष्ट खेलाडीहरू तथा भारतबाट ५० बढी खेलाडीहरू प्रतिस्पर्धाको लागि आउने बताइएको छ ।
प्रतियोगिता आयोजनाको उद्देश्य नेपालमा स्केट खेलको विकास तथा यो खेलमा आबद्ध युवा खेलाडीहरूलाई व्यावसायिक बनाउने रहेको जनाइएको छ ।
नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनालले स्केट मिनी म्याराथन प्रतियोगिता भविष्यमा इनलाइन स्केटिङ र स्केट बोर्डिङ खेलले व्यावसायिक रूप लिन कोशेढुंगा साबित हुने बताए ।
उनले नेपालमा स्केटका विभिन्न १२ वटा इभेन्ट्स रहेको र त्यसमा इनलाइन स्केटको नयाँ विधामा खेलाडीहरूको व्यापक सम्भावना रहेको बताए ।
तीन वर्ष अगाडि स्थापना भएको द स्केट ल्यान्डका संस्थापक राईले अब नियमित रूपमा प्रतियोगिता गर्ने र इनलाइन स्केट खेललाई सक्रिय बनाउने बताए । उनले भने, ‘नेपालमा उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने र उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा एक्सपोजर दिई अन्तर्राष्ट्रिय पदक भित्राउने हाम्रो लक्ष्य हो ।’