अजितलाइ स्वर्ण पदक

नेपालका अजितकुमार यादवले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेका छन् ।घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने उनले पुरुष ३ हजार मिटर दौडमा स्वर्ण जितेको एथलेटिक्स मुख्य प्रशिक्षक विक्रमजंग थापाले जनाएका छन् । उनीसहित १२ राष्ट्रका १५ खेलाडी उक्त स्पर्धामा दौडेका थिए । सप्तरीको राजविराज निवासी अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरे । यो समयसंगै अजितले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमान पनि सुधार गरेका छन् । यसै वर्ष राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको केन्द्रीय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा अजितले ८ मिनेट ४४.९ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए । सिनियर भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ । उनले १९९९ मा भारतको नयाँ दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा ८ मिनेट २३.५९ सेकेन्डको कीर्तिमान रचेका थिए ।
युथ एथलेटिक्समा नेपालबाट अजित एक्लो सहभागी खेलाडी हुन् । अजितबाहेक उक्त स्पर्धामा भारत, यमन र आयोजक हङकङबाट २–२ तथा जापान, कोरिया, ओमन, इरान, काजकिस्तान, इन्डोनेसिया, जोर्डन र भुटानबाट १–१ खेलाडीले सहभागिता जनाएका थिए । ८ मिनेट ३६.३४ सेकेन्डमा भारतका अमित जान्गिर दोश्रो तथा ८ मिनेट ३८.६० सेकेन्डमा यमनका गमिल अल हमाटी तेश्रो स्थानमा रहे ।
अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) द्वारा मान्यता प्राप्त र एसियाली एथलेटिक्स महासंघले आयोजना गर्ने अफिसियल एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण भएको मुख्य प्रशिक्षक थापाले जनाएका छन् । समग्रमा भने यो तेस्रो पदक हो । ४५ वर्षअघि (१९७३) फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा कांस्य जितेका थिए । त्यो कांस्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक पनि हो ।जित बहादुरले नै दक्षिण कोरियामा भएको प्रतियोगितामा फेरी काश्य पदक जितेका थिए ।
प्रशिक्षकका रुपमा धनीराम चौधरी अजितसंगै हङकङ गएका थिए । चौधरीकै नाममा २३ वर्षसम्म ८ सय मिटर दौडमा १ मिनेट ५०.६० सेकेन्डको राष्ट्रिय कीर्तिमान स्थापित थियो । गत भदौमा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा सोमबहादुर कुमालले १ मिनेट ५०.२५ सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्दै चौधरीको कीर्तिमान भंग गरेका थिए ।

Comment