दीपक र राज पुरा उत्कृष्ट वर्ष खेलाडी

एथलेटिक्सका दीपक अधिकारी र राज पुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा र राज पूरा महिलामा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । यस संस्करणदेखि सुरु गरिएको शीर्ष तीनबाट दीपक र राज पुरा वर्ष उत्कृष्ट खेलाडी भए । याक एन्ड यति होटेलमा सम्पन्न अवार्डमा दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ सेखलाई पछाडि पारे । महिलामा राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुसा मल्ललाई पछि पारिन् । दीपक १६औँ एसियाली क्रस कन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन् । राजपुराले पनि सोही च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन् ।

दीपकलाई गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले अवार्ड प्रदान गरे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले राज पुरालाई अवार्ड प्रदान गरे । वर्ष उत्कृष्ट खेलाडी द्वय दीपक र राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाए । टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितिन् । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन् । सिक्काले सर्वाधिक ४४.८ प्रतिशत मत प्राप्त गरिन् । यस अवार्डको मनोनयनमा करातेका विप्लवलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ,  भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ थिए ।

सिक्काले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन् । उनलाई ईसेवाको चिफ बिजनेस अफिसर र आशिष गौतमले अवार्ड प्रदान गरे । वर्ष उत्कृष्ट प्रशिक्षक पनि एथलेटिक्सकै प्रशिक्षक चन्द्र गुरुङ घोषित भए । यो अवार्ड विजेता गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाए । उनलाई सूर्य नेपाल प्रालीका प्रतिनिधि विदुर अधिकारी र युनाइटेड अजोड इन्स्युरेन्स प्रालीका सिनियर डिसिइडी कुमारबहादुर खत्रीले अवार्ड प्रदान गरे । गुरुङको प्रशिक्षणमा १६औँ एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्णसहित ऐतिहासिक पदक प्राप्त गरेको थियो । 

उक्त च्याम्पियनसिपमा नेपालले सिनियरमा दुई स्वर्ण र एक कांस्य तथा जुनियरमा दुई रजत र एक कांस्य पदक प्राप्त गरेको थियो । प्रशिक्षक गुरुङले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पारे । युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए । उनी नेपालले आठ वर्षको खडेरी तोड्दै २०२४ को आइसिसी यु–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान हुन् । देवकै कप्तानीमा नेपालले युएईलाई फाइनलमा हराउँदै एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । उनले एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुषमा तामाङ पछि पार्दै यो अवार्ड जिते ।

देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए । उनलाई होटेल याक एन्ड यतिकी महाप्रबन्धक मोनिका साई ब्लावर र इड्राइभ नेपाल प्रालीका अध्यक्ष राजेश मास्केले अवार्ड प्रदान गरे । एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ बिसुङ्खे सम्मानित भइन् । उनले ट्रफीसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पाइन् । उनी सन् २००६ देखि पारा खेलकुदमा सक्रिय छन् । लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवम् भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गरे । खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन् ।

प्रधानलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र महासचिव प्रज्वल ओलीले अवार्ड र ५० हजार रुपैयाँ प्रदान गरे । स्पेसल अवार्डबाट फोटो पत्रकार र पोखरेली खेलकुद अभियन्ता सुदर्शन रञ्जित सम्मानित भए । उनी चार दशकभन्दा बढी पोखराका खेल गतिविधिमा सक्रिय छन् । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जङ्ग शाह र नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अवार्ड प्रदान गरे । एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट हङकङ रेमण्ड चुलाई प्रदान गरिएको छ । उनलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले अवार्ड प्रदान गरे ।

कुल ९ विधामध्ये एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेता युनाइटेड अजोड इन्स्योरेन्सको तर्पmबाट एक वर्षका लागि खेलकुद बिमा पाउनेछन् ।    २०औँ संस्करणको पल्सर अवार्डको मुख्य प्रायोजक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । स्पोर्ट्स अवार्डको सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटेल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपुर्जा नेपाल, सुबिसु, रोयल सिङ्गी होटेल, प्लाजा होटेल ग्रुप, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

Comment