जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस राष्ट्रिय खुल्ला प्रतियोगिता हुने भएको छ । युवा खेलाडीहरूलाई लक्षित गरी प्रतियोगिता गर्न लागेको सोमबार बुटवलमा पत्रकार सम्मेलन एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले बताए । ‘विद्यालय स्तरका खेलाडीहरूलाई प्रोत्साहन गर्ने र खेलाडी उत्पादनमा सहयोग गर्ने गरी कार्यक्रम गर्न लागेको हौ ’उनले भने । ३ जेठमा  स्वर्गीय मदन भण्डारीको ३१ औ स्मृति दिवसको अवसर पारेर कार्यक्रम गर्न लागेको उनले बताए । हाफ म्याराथन २१ किलोमिटर (खुल्ला पुरुष), दौड १० किलोमिटर कलेज स्तरीय पुरुष, ५ किलोमिटर विद्यालय स्तर छात्र तथा ३ किलोमिटर दौड छात्रा र १ सय मिटर दौड छात्रछात्रा हुने छ । ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी वाकाथन समेत हुने उनले बताए । 

प्रतियोगिताका शीर्ष १५ खेलाडीहरूलाई पुरस्कृत गरिने उनले बताए । यसै गरी मुटुको शल्यक्रिया गरेका ओलम्पिक वैकुण्ठ मानन्धरलाई दुई वर्षका लागि मासिक ४ हजार रुपैयाँका दरले एकेडेमीबाट ३ जेठकै दिन सहयोग रकम प्रदान गरिने उनले बताए ।

प्रतियोगिता संयोजक तथा एकेडेमीका एथलेटिक्स विभाग प्रमुख मोहन बहादुर घलेले दोस्रो पटक म्याराथन गर्न लागेको बताए । प्रतियोगिताको खुला पुरुष हाफ म्याराथनको उपाधि विजेताले १ लाख, उपविजेताले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ३० हजार र पाँचौँले  २० हजार र  छैटौँले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । 

यसै गरी कलेज स्तरीय १० किलोमिटर छात्र दौडमा पहिलोले ३५ हजार, दोस्रोले २५ हजार,तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौँले ७ हजार र छैटौँले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसै गरी विद्यालय छात्रमा पहिलोले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १२ हजार, चौथोले १० हजार, पाँचौँले ७ हजार तथा छैटौँले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । 

छात्रा ३ किलोमिटर दौडमा पहिलोले १५ हजार, दोस्रोले १० हजार, ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

एकेडेमीका सदस्य सचिव विनोद आचार्यले भारतको ब्याडमिन्टन २१ एकेडेमीसँग सहकार्यमा नेपालको मदन भण्डारी एकेडेमी विकासका कार्यक्रम अघि बढाएको बताए । 

Comment