हेटौडालाई प्रकाश दाहाल भलिबलको उपाधि

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौडा महानगरपालिकाले जितेको छ । उपाधि जित्ने क्रममा हेटौडाले बुधवार भएको फाइनल खेलमा उत्कृष्ट कम ब्याक गर्दै थाहा नगरपालिकालाई २१–२५,१७–२५,२५–१६,२५–१५,१५–४ ले हराएको हो । 

प्रतियोगितामा महांकाल गाउँपालिका र घ्याकलेक गाउँ पालिका तेस्रो भए । उपाधि विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुने दुवै टोलीले एक लाख रुपैयाँ पुरस्कार पाए । 

राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार थाहा नगरपालिकाका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए । उपाधि विजेता हेटौडाका सुजन चोखालले उत्कृष्ट सेटर,उत्कृष्ट लिबरो हेटौडाका राजन दर्लामी मगर घोषित भए । महांकाल गाउँ पालिकाका जीवन सुनार उत्कृष्ट ब्लकर भए । यसै गरी, उपाधि विजेता हेटौडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक भए । विधागत उत्कृष्ट हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाए । उपाधि विजेता टोली तथा खेलाडीलाई आयोजक टोलीकी संयोजक डोल्मामाया गोले लगायतले पुरस्कार प्रदान गरे । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । 

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग रहेको छ । ललितपुर जिल्ला खेलकुद विकास समिति सह आयोजक रहेको थियो ।

Comment