नेपाल अन्तरराष्ट्रिय सेरिज ब्याडमिन्टनको तयारी पूरा


नेपाल ब्याडमिन्टन संघले बार्षिक रुपमानै अन्तरराष्ट्रिय प्रतियोगितालाई नेपालमा आयोजना गर्दै नेपाली ब्याडमिन्टन खेलाडीहरुको स्तरबृद्धि गर्ने अभियान स्वरुप आफ्नो क्यालेन्डरमानै राखेको अन्तराष्ट्रिय सेरिज यस बर्ष पनि आयोजना गर्न लागेको छ । यहि पौष ५ गते देखि ९ गते सम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा आयोजना हुने प्रतियोगिताको करिव सम्पूर्ण तयारी पुरा भएको छ । हामीले प्रतियोगिताको लागि आवश्यक करिव÷करिव सम्पूर्ण तयारी पुरा गरि सकेका छौं । अव छिटपुट कामहरु बाँकी छ त्यसलाई पनि समयमै पुरा गर्दछौं – नेपाल ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठले बताए ।
नेपालले अघिल्लो बर्ष आयोजना गरेको अन्तराष्ट्रिय सिरिज सफलतापूर्वक सम्पन्न गरेकाले यस बर्ष पनि नेपाललाई विश्व ब्याडमिन्टन महासंघ र एशियाली ब्याडमिन्टन महासंघले नेपालमा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न स्विकृती प्रदान गरेको हो ।
त्यसकै फलस्वरुप अघिल्लो बर्ष दक्षिण एशियाका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, मालदिप्स र एयिशाका गरि ८ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा यस बर्ष दक्षिण एशियाका श्रीलङका बाहेकका ६ राष्ट्र एयिशाका दक्षिण एशिया बाहेकका अन्य १० राष्ट्र, ओसियानाबाट अष्ट्रेलिया र उत्तर अमेरिकाबाट चिलीले समेत सहभागिता जनाउने प्रतियोगिताका डेपुटी रेफ्रि एवं नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लव भक्त श्रेष्ठले जानकारी गराए । प्रतियोगिताको स्तर बृद्धि संगै पुरस्कार राशीमा समेत बृद्धि गरिएकोछ । अघिल्लो संस्करणमा ६ हजार डलर पुरस्कार राशी रहेकोमा यस बर्ष खेलको स्तर बृद्धिसंगै पुरस्कार राशीमा पनि बृद्धि गर्दै ८ हजार डलर पुरस्कार राशी राखिएको छ – श्रेष्ठले बताए ।
यस पटक पनि यस प्रतियोगितालाई अन्तराष्ट्रिय खेल सामाग्री उत्पादन कम्पनी योनेक्सले प्रायोजन गर्ने भएको छ । त्यसका लागि नेपालमा योनेक्सको आधिकारीक विक्रेता सनराईजले त्यसको सम्पूर्ण कार्य गरिसकेको छ । जसमा खेलडीहरुलाई ६० हजार बराबरको खेल सामाग्री प्रदान गरिसकेको छ भने, प्रतियोगिताको लागि आवश्यक सटल कर्क र ६ हजार पुरस्कार राशी योनेक्सले प्रदान गर्ने छ । पुरस्कार राशीका बाँकी २ हजार डलर नेपाल ब्याडमिन्टन संघले व्यहोर्ने समेते डेपुटी रेफ्री श्रेष्ठले जानकारी गराए ।
प्रतियोगितामा पुरुष÷महिला एकल र जोडी तथा मिक्स गरि कुल ५ विधामा १८ राष्ट्रका २२५ खेलाडीहरुले सहभागिता गर्ने नेपाल ब्याडमिन्टन संघले जनाएको छ । जसमा भारतबाट ९० खेलाडीहरुले सहभागिता जनाउने छन् । नेपालले उक्त प्रतियोगिताका लागि १२ महिला र २० पुरुष खेलाडीलाई कोर्टमा उतार्ने भएको छ ।
नेपालले पनि आफ्ना खेलाडीहरुलाई यस अन्तरराष्ट्रिय सिरिजमा उतार्नका लागि बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण प्रदान गरिरहेको छ । विहान र बेलुका गरि दुई चरणमा खेलाडीहरुलाई प्रमुख प्रशिक्षक सुदीप योञ्जन, प्रशिक्षकहरु किरण थापा र जयन्त श्रेष्ठले पूर्व प्रमुख प्रशिक्षक उदय श्रेष्ठको निगरानीमा प्रशिक्षण प्रदान गर्दै आई रहेका छन् ।
यस सिरिजको पहिलो सस्करणमा पुरुष एकलमा भारतका अभिषेक येल्गार र महिला तर्फ भियतनामकी थुईलिन न्ह्येनले उपाधी हात पार्न सफल भएका थिए । यस्तै जोडी तर्फ पुरुषमा भारतका अर्जूृन एमआर र रामचन्द्रन स्लोक र महिला तर्फ भारतकै मेधना जकमपुडी र एस राम पूर्विसाले जित हात पारेका थिए । मिक्स जोडी तर्फ पनि भारतका सौरभ शर्मा र अनष्का पारेखको जोडीले सफलता हात पारेको थियो ।
प्रतियोगितालाई स्वच्छ र निश्पक्षताका साथ सम्पन्न गर्नका लागि एशियाली ब्याडमिन्टन महासंघका तर्फबाट निर्णायक टोली सोमबार काठमाण्डौ आई पुग्ने छ । यस्तै प्रतियोगितामा सहभागी हुन पहिलो टोलीको रुपमा भियतनामका टोली पनि त्यसै साझ काठमाण्डौ आई पुग्ने छन् । यस्तै अन्य राष्ट्रका टोलीहरु मंगलबार काठमाण्डौ आई पुग्ने कार्यक्रम रहेको नेपाल ब्याडमिन्टन संघले जनाएको छ । पौष ५ गते उद्घाटन हुने प्रतियोगिता ५ दिन सम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा संचालन हुनेछ ।

Comment