इन्डो नेपाल ब्याडमिन्टन प्रशिक्षण शिविर धादिङमा 

ब्याडमिन्टन २१ एकेडेमीले इन्डो नेपाल ब्याडमिन्टन प्रशिक्षण शिविर काठमाडौँ र भक्तपुर पछि धादिङमा सुरु भएको छ । धादिङ जिल्ला ब्याडमिन्टन सङ्घको पहल र वरिष्ठ ब्याडमिन्टन रेफ्रि उदय अर्यालको प्रयासमा शिविर धादिङ पुगेको हो । 

भारतबाट आएका ब्याडमिन्टन प्रशिक्षक र मातहतमा चलेका सो प्रशिक्षण शिविरमा १० भारतीय र १० नीलकण्ठ नगरपालिका भित्रका जुनियर खेलाडीहरू रहेका छन् । ब्याडमिन्टन २१ एकेडेमी र धादिङ जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त लगानीमा ब्याडमिन्टन खेल र खेलाडीको विकास गर्ने उद्देश्यले निलकण्ड नगरपालिकामा पहिलो पटक ब्याडमिन्टन एकेडेमी सञ्चालन हुने भएको छ । 

धादिङ जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष तथा वरिष्ठ अन्तर्राष्ट्रिय भेट्रान खेलाडी विष्णुलाल श्रेष्ठले भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पछि ब्याडमिन्टन प्रति आकर्षण अत्यधिक बढेको र राम्रो ब्याडमिन्टन प्रशिक्षकको टड्कारो आवश्यकता भएको हुँदा ब्याडमिन्टन २१ सँग सहकार्य गरेर भारतीय दक्ष प्रशिक्षक ल्याएर एकेडेमी सञ्चालन गर्न लागेको बताए  ।

ब्याडमिन्टन २१ का संस्थापक विकास शुक्लले राम्रो प्रशिक्षण प्राप्त गर्न सके नेपाली खेलाडीहरू धेरै माथिल्लो उचाइ प्राप्त गर्न सफल हुने बताए । इन्डो नेपाल ब्याडमिन्टन प्रशिक्षण शिविरको इभेन्ट पार्टनर एटेथ सर्भ, खेतान स्पोर्ट्स फाउन्डेसन र मदन भण्डारी स्पोर्ट्स एकेडेमी छन् । 

Comment