मंगलबारेमा टंकमाया गौतम स्मृति बुद्धिचाल मंगलबारेमा

राम योङहाङ

इलामको देउमाई नगरपालिकास्थित मंगलबारेमा १ नम्बर प्रदेश स्तरीय ‘टंकमाया गौतम स्मृति’ बुद्धिचाल (चेस) प्रतियोगिता सञ्चालन हुने भएको छ ।नेपाल बुद्धिचाल संघ नेपाल र जिल्ला बुद्धिचाल संघ इलामको संयुक्त आयोजनामा प्रतियोगित सञ्चालन हुन लागेको हो । ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १ नम्बर प्रदेशका १४ जिल्लाका ४० जना खेलाडीले सहभागिता जनाउने नेपाल बुद्धिचाल संघका केन्द्रिय उपाध्यक्ष बिदुर गौतमले जानकारी दिए । प्रतियोगितामा बिजेताले नगद २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले नगद १० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सो प्रतियोगितामा उत्कृष्ठ सत्रभित्र पर्नेलाई समेत नगद पुरस्कार दिइने आइतबार इलाममा पत्रकार भेटघाट गरी आयोजकले जनाएको छ ।प्रतियोगितामा इलाम च्याम्पियन, ५५ वर्षमाथिका उत्कृष्ठ भेट्रान, १५ वर्ष मुनिका उत्कृष्ठ र महिलातर्फ उत्कृष्ठ सहित उत्कृष्ठ सत्रभित्र पर्नेलाई पुरस्कृत प्रदान गरिने नेपाल बुद्धिचाल संघका उपाध्यक्ष गौतमले जानकारी दिए । पुरस्कारमा मात्र एकलाख रुपैंयाँ खर्च हुने आयोजकले जनाएको छ । स्वीस लिगको आधारमा ९ चरणमा खेलाइने प्रतियोगिता अन्तराष्ट्रिय स्तरको रेटिङ प्रतियोगिता रहेको जनाइएको छ । यो प्रतियोगितामा नयाँ खेलाडिलाई रेटिङ प्राप्त गर्ने अवसर हो भने रेटिङ प्राप्त खेलाडिलाई रेटिङ बृद्धी गर्नेे अवसर पनि रहेको आयोजकले जनाएको छ । गतवर्ष मृत्यु भएका मंगलबारेकी टंकमाया गौतमको वार्षिकीमा आफ्नो स्वर्गीय आमाको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागिएको उपाध्यक्ष गौतमले बताए । दुई लाख ७५ हजार रुपैंयाँ खर्च लाग्ने अनुमान गरीएको प्रतियोगितामा पुरस्कारमा लाग्ने खर्च पारिवारिक श्रोतबाट जुटाईने गौतमले जानकारी दिए । बाँकी रकम दर्ता शुल्क र सहयोगी दाताहरुबाट संकलन गरीने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए । प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन भूपेन्द्र निरौलाको समेत सहभागिता रहने आयोजकले जनाएको छ । जसले गर्दा सो प्रतियोगिताको उचाई थप बढ्ने आयोजकको दावी छ ।विगत ३ वर्षयता इलाममा बुद्धिचाल (चेस) खेलको विकास गर्न चेस खेलप्रति खेलाडीको आकर्षण बढाउने गरी प्रतियोगिता सञ्चालन गरीदैं आएको छ । इलाममा गएको २ वर्ष लगातार ठूलो धनराशीको अन्तराष्ट्रिय बुद्धिचाल (चेस) प्रतियोगिता भइसकेका छन् । बुद्धिचाल (चेस) खेलप्रति खेलाडीको बढ्दो आकर्षणले पनि यो वर्ष जिल्लाको ग्रामिण क्षेत्रमा बुद्धिचाल (चेस) को विकास गराउन मंगलबारेमा यो प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।

Comment