सुजेन्द्रको स्मृतिमा प्रतियोगिता

नेपाली बुद्धिचालमा अतुलनीय योगदान गरेका फिडे मास्टर सुजेन्द्र प्रसाद श्रेष्ठलाई गुमाएर पिडामा रहेको नेपाली चेस समुदाय शनिवार उनकै स्मृतिमा आयोजना हुने प्रतियोगितामा सरिक हुने भएको छ । मखन तारीणी बहालमा शनिवार श्रेष्ठको स्मृतिमा ब्लीट्ज चेस प्रतियोगिता हुने भएको छ । 

६० को दशकमा नेपाली चेसलाई लोकप्रिय बनाउन श्रेष्ठको भूमिका महत्त्वपूर्ण थियो । खेलाडी र व्यवस्थापनको रूपमा उत्तिकै सक्रिय श्रेष्ठकै पहलमा मखन चेस क्लबले नेपालमा पहिलो पटक रेटिङ बुद्धिचाल प्रतियोगिताको आयोजना गरेको थियो । 

सन् २००० को दशकको मध्यमा नेपाली चेस सुरुवाती दिनमा ओलम्पियाडमा सहभागी हुने समयमा श्रेष्ठको भूमिका खेलाडीको रूपमा मात्र होइन सङ्घ व्यवस्थापनमा समेत सक्रिय थियो । व्यक्तिगत रूपमा राष्ट्रिय च्याम्पियनसिप मार्फत ओलम्पियाडमा सहभागी श्रेष्ठ टिम च्याम्पियनसिपमा पनि सफल खेलाडी हुन् । नेपालमा पहिलो पटक भएको राष्ट्रिय टिम च्याम्पियनसिपमा मखनलाई विजेता बनाउने क्रममा श्रेष्ठले सानदार प्रदर्शन गरेका थिए । 

मखनमा रात्रि कालीन चेस प्रतियोगिताको नवीन प्रयोग गरेका श्रेष्ठले मखनमै एकेडेमी समेत सञ्चालन गरेका थिए । 

खेलाडी र व्यवस्थापनमा सक्रिय श्रेष्ठको प्रशिक्षकको रूपमा समेत महत्त्वपूर्ण सफलता मिलेको छ । मखन क्लबले केही समय आफूलाई एकेडेमीको स्वरूप दिएकै समयमा अस्मिता अधिकारी र तारा घलले मखनबाट आफूलाई परिष्कृत गरेका थिए । यी दुवै खेलाडीले ओलम्पियाडको अनुभव मात्र बटुलेका थिएनन् तारा महिला राष्ट्रिय च्याम्पियन समेत भएकी थिइन् । 

नेपाली बुद्धिचालको सर्व पक्षीय क्षेत्रमा योगदान रहेको तीनै श्रेष्ठको सम्झनामा मखनले नै प्रतियोगिता आयोजना गर्न लागेको हो । 

Comment