राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिपको उपाधि दोलखालाई 

नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सम्पन्न छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखा चेस होम नेपालले जितेको छ । 

ललितपुरको च्यासलस्थित तुल्सिलाल स्मृति प्रतिष्ठानको हलमा शनिवार सम्पन्न फाइनल खेलमा भक्तपुर जिल्ला बुद्धिचाल सङ्घलाई हराउँदै दोलखाले उपाधि जितेको हो । 

उपाधि जित्ने क्रममा दोलखाले भक्तपुरलाई ३–५ र ०–५ ले पराजित गरेको हो । टिमलाई उपाधि जिताउने क्रममा दोलखामा वर्तमान नेपाल च्याम्पियन रुपेस जैसवालले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई पराजित गर्दा दोलखाका सुश्रुत दाहाल भक्तपुरका विकास चोकामीसँग बराबरी खेले भने । 

त्यस्तै दोलखाका मुहान नर्सिङ श्रेष्ठ र सुजना लोहनीले क्रमशः भक्तपुरका स्वर्णिम दुवाल अभिक शाहलाई पराजित गरे । यस्तै अर्को खेलमा मकवानपुर जिल्ला चेस सङ्घलाई २–५ र  १–५ ले पराजित गर्दै कोसी प्रदेश प्रतियोगितामा तेस्रो भएको छ । 

प्रतियोगिताको उपाधि जितेसँगै दोलखाले ट्रफीसँग २ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता भक्तपुरले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गरेको कोसीले ६० हजार र चौथो भएको मकवानपुरले ४० हजार नगद पुरस्कार प्राप्त गरेका छन्। त्यसै गरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरूलाई जनही १० हजार पुरस्कार प्रदान गरिएको छ ।  

राष्ट्रिय स्तरका उत्कृष्ट १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगिताको कूल पुरस्कार राशि ४ लाख ७० हजार रहेको थियो ।

Comment