दोलखा र भक्तपुर राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिपको फाइनलमा 

नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधिका लागि दोलखा चेस होम नेपाल र भक्तपुर जिल्ला बुद्धिचाल सङ्घबिच प्रतिस्पर्धा हुने भएको छ । 

शुक्रवार सम्पन्न नकआउट चरणको पहिलो खेलमा दोलखाले मकवानपुर जिल्ला बुद्धिचाल सङ्घलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । फाइनलमा पुग्ने क्रममा दोलखाले मकवानपुरमाथि २–५ र १–५ को जित हात पारेको हो । वर्तमान नेपाल च्याम्पियन रुपेश जयसवाल र कृष्ण थापाबिचको खेल बराबरीमा सकिएको थियो । त्यस्तै सुश्रुत दाहाल सिन्देश्वर दाशसँग हारे भने मुहान नर्सिङ श्रेष्ठले सुदेन टुईटुईमाथि र सुजना लोहनीले अनुस्ना गौतममाथि जित हात पार्दै फाइनलमा लगे । 

त्यसै गरी नकआउट चरणको दोस्रो खेलमा भक्तपुर जिल्ला बुद्धिचाल संघले र कोसी प्रदेश बुद्धिचाल सङ्घलाई पराजित गर्दै फाइनलमा दोलखासँगको भेट पक्का गरेको हो । सेमिफाइनल अन्तर्गत क्लासिकल चरण बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा गएको थियो । टाई ब्रेकरमा जित हात पार्ने क्रममा भक्तपुर जिल्ला बुद्धिचाल संघले कोसी प्रदेशलाई टाई ब्रेकरको चार वटै खेलमा पराजित गर्न सफल भयो । 

क्लासिकल चरणमा भक्तपुरका युवा खेलाडी पुरुषोत्तम सिलवाल र कोशिका प्रकाश चन्द्र नेपाल तथा भक्तपुरका स्वर्णिम दुवाल र कोशिका मिसन दाहालबिचको खेल बराबरीमा सकियो । भक्तपुरका राजेश कक्षपती कोशिका सविन चन्द्र घिमिरेसँग पराजित हुन पुगे भने अभिक शाहले कोशिका कृतिशारा अधिकारीमाथि जित निकाल्दै टिमलाई स्ट्यान्डर चरणमा बराबरी गर्दै खेललाई टाई ब्रेकरमा पुर्‍याएका थिए । ट्राई बेकरमा भक्तपुरका पुरुषोत्तम सिलवाल, विक्रम चोकामी, स्वर्णिम दुवाल र अभिक शाहले क्रमशः कोशिका प्रकाश चन्द्र नेपाल, सविन चन्द्र घिमिरे, मिसन दाहाल र कृतिशारा अधिकारीमाथि जित निकाल्दै टिमलाई ४–० को जित दिलाउँदै फाइनलमा पुर्‍याए । 

ललितपुरस्थित तुल्सिलाल स्मृति प्रतिष्ठानमा जारी प्रतियोगिताको फाइनल खेल शनिवार बिहान ९ बजे सुरु हुनेछ । राष्ट्रिय स्तरका उत्कट १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ। त्यसै गरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरूलाई जनही १० हजार पुरस्कार प्रदान गरिने छ । 

प्रतियोगिताको कूल पुरस्कार राशि ४ लाख ७०  हजार रुपैयाँ छ । 

Comment