लिटिल एन्जल्स आठौं पटक टिम च्याम्पियन


आयोजक लिटिल एन्जल्स स्कुल (एलए) ले १० औं एलए÷जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । सर्वाधिक ४८ अंकसहित एलए समग्रमा टिम च्याम्पियन बन्न सफल भयो । एलएले टिम च्याम्पियनको उपाधि जितेको आठौं पटक हो । ८ औं संस्करणमा भने एलए र सेन्ट जेभियर्स संयुक्त विजेता बनेका थिए ।
डिफेन्डिङ च्याम्पियन सेन्ट जेभियर्सले ३६ अंक जोड्दै दोश्रो स्थानमा चित्त बुझायो । २४ अंकसाथ प्रिमियर इनटरनेसनल स्कुल तेश्रो भयो । प्रिमियरलाई तेश्रो बनाउन प्रशंसा मोक्तान एक्लैको भूमिका रह्यो । प्रशंसाले एकल स्पर्धामा दोहोरो स्वर्ण जितिन् । प्रतियोगितामा एकल स्पर्धामा दोहोरो स्वर्ण जित्ने प्रशंसा एक्ली खेलाडी हुन् । प्रशंसाले यु–९ र यु–१० गल्र्स सिंगल्समा स्वर्ण चुमिन् । प्रिमियरबाट जम्मा २ खेलाडीले सहभागिता जनाएका थिए । अर्का खेलाडीमा प्रशंसाकै दाई प्रसिद्ध हुन् । प्रसिद्ध पदकविहीन बने ।
प्रतियोगिताको अन्तिम दिन तीन सिंगल्स स्पर्धाका फाइनल खेल भएका थिए । यु–१४ ब्वाइज सिंगल्समा सेन्ट जेभियर्सका आदित सुवेदीले स्वर्ण जिते । उनले फाइनलमा शुभताराका सम्यकभूषण वज्राचार्यलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरे ।
सोही स्पर्धाको गल्र्समा एलएकी सलोनी तामाङ च्याम्पियन बनिन् । हात्तीवनस्थित घरेलु कोर्टमा भएको फाइनलमा सलोनीले एस स्कुलकी रायना शाहलाई ७–६ र ६–० को सीधा सेटमा हराइन् । सलोनीले सिकुम सुब्बासंग मिलेर यु–१४ गल्र्स डबल्समा पनि स्वर्ण जितिन् ।
काष्ठमण्डप विद्यालयका प्रणव मानन्धर यु–१० ब्वाइज सिंगल्समा पहिलो भए । फाइनलमा प्रणवले नेपाल पुलिस स्कुलका प्रसिद्ध बस्नेतलाई ६–० र ६–२ को सोझो सेटमा पाखा लगाए ।
यसअघि सिंगल्सको यु–८ ब्वाइजमा सेन्ट जेभियर्सका निसाद जोशी र गल्र्समा सरस्वती बोर्डिङ स्कुलकी सुप्रिया तामाङ, यु–९ को ब्वाइजमा जोन डेवीका आयुशमान हजुर घले तथा यु–१२ ब्वाइजमा अक्षरा स्कुलका आदित्य सुवेदी र गल्र्समा एसकी रायना शाहले स्वर्ण जितेका थिए ।
विजेतालाई अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा, एलएका अध्यक्ष पीबी लिम्बू, एलएका प्रिन्सिपल मुकुन्दराज शर्मा, लिटिल एन्जल्स कलेजका प्रिन्सिपल मित्रबन्धु पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । साताव्यापी प्रतियोगितामा ३१ विद्यालयका ७६ ब्वाइज र ६८ गल्र्स गरी जम्मा १ सय ४४ खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment