युयुएनटीएफद्वारा विमला सम्मानित

bimala

दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालका लागि एक्लो पदक विजेता विमला तामाङलाई युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन, नेपाल च्याप्टरले शुक्रबार नगदसहित सम्मान गरेको छ ।
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलेले च्याप्टरको तर्फबाट विमलालाई ७५ हजार रुपिया र सम्मान पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा प्रशिक्षक ध्रुवविक्रम मल्ललाई पनि २५ हजार सहित सम्मानपत्र बाट सम्मान गरिएको थियो । नेपाललाई पदकविहीन हुनबाट जोगाउने क्रममा विमलाले महिला एकल कातामा कांस्य जित्दै एक्लो पदक जित्ने नेपाली खेलाडी बनेकी थिइन् ।स्मरणीय छ, राज्यको अबरोधका बाबजुद बिमलाले नेपाल ओलम्पिक कमिटी र   डब्लुकेएफको मान्यता प्राप्त कराते महासंघको प्रयासका कारण एसियाडमा सहभागिता जनाएकी थिइन् । राज्यका खेलकुद निकायका कसैले पनि क्षमायाचना गर्ने  नैतीकता भने देखाउन सकेका छैनन् ।
कार्यक्रममा तेक्वान्दो प्रशिक्षक दिपराज गुरुंग, नेपाल च्याप्टरका हरिहर पाण्डे, युएस च्याप्टरका मनमोहन वाइवा र रामचन्द्र केसी तथा नेपाल च्याप्टरका अध्यक्ष नोर्बु लामा लगायतले मन्तब्य ब्यक्त गरे ।  सोही अवसरमा राष्ट्रिय टिमका तेक्वान्दो खेलाडी मोहम्मद वेश र अस्मिता खड्कालाई पनि प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरेको छ । वीरगन्ज डोजाङका वेशलाई मासिक ५ हजारका दरले एक वर्षका लागि ६० हजार तथास्यूचाटार डोजाङकी अस्मितालाई मासिक ३ हजार ५ सयका दरले एकै वर्षका लागि ४२ हजार प्रदान गरिने भएको छ । दुवैले छात्रवृत्ति वापत पाउने ६–६ महिनाको रकम भने कार्यक्रममै प्रदान गरिएको च्याप्टरका अध्यक्ष नोर्बु लामाले जानकारी गराए ।

Comment