साम्बो टोलीको बिदाइ

दुई फरक स्थान र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली साम्बो टोलीलाई आइतबार एक कार्यक्रमबीच बिदाइ गरियो । दुवै टोलीलाई त्रिपुरेश्वरमा भएको एउटै कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरे ।
थाइल्यान्डको फुकेटमा नोभेम्बर १० देखि २३ तारिखसम्म हुने चौथो एसियाली बिच गेम्समा ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली सहभागी हुँदैछ ।
स्पोर्ट्सतर्फ पुरुष  ६२ केजीमा गोपाल पुन मगर र ६८ केजीमा सरोज गोले तथा महिला ५२ केजीमा भग्वती माझीले प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा नेपाल साम्बो फेडेरेसनका सदस्य कृष्णबहादुर राउत र प्रशिक्षकमा दानबहादुर घिसिङ रहेका छन् ।
त्यस्तै रसियाको मस्कोमा हुने विश्व युनिफाइड च्याम्पियनसिपको स्पोर्ट्स युनिफाइडतर्फ पुरुष ६० केजीमा कृष्णलाल तामाङले भाग लिने छन् ।
अफिसियलमा फेडेरेसनका अध्यक्ष धनञ्जय श्रेष्ठ छन् । श्रेष्ठ रसियामै छन् । उक्त च्याम्पियनसिप नोभेम्बर १० देखि १६ तारिखसम्म हुनेछ । दुवै टोली सोमबार आ–आफ्नो गन्तब्यतर्फ प्रस्थान गर्ने फेडेरेसनका सचिव उत्तम श्रेष्ठले जनाएका छन् ।

Comment