आइओएफटिसी नेपाल २०२४ स्थापना


अमेरिकाको पोर्टल्यान्डस्थित इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप (आइओएफटिसी) को सहयोगी संस्थाको रूपमा आइओएफटिसी नेपाल २०२४ स्थापना भएको छ ।
पाटनको सौगलस्थिल यलमुल गार्डेनमा आयोजित एक कार्यक्रममा आइओएफटिसी नेपाल २०२४ गठन भएको जानकारी दिइएको छ । आइओएफटिसी प्रधान कार्यालयका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले आइओएफटिसी नेपाल २०२४ टिमका पदाधिकारी तथा सदस्यलाई स्वागत गरे । आइओएफटिस नेपालको अध्यक्षमा मीनप्रसाद खनाल छन् । यसै गरी उपाध्यक्षमा राज मन्दिर श्रेष्ठ, सचिवमा गिरीबहादुर सुनार, कोषाध्यक्षमा रिकेश महर्जन रहेका छन् । सदस्यहरूमा सहदेव श्रेष्ठ, सिलकुमारी महर्जन र भवानी बजगाईँ छन् ।
ग्रान्डमास्टर महर्जनले नयाँ टिमलाई शुभकामना दिए  । आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आफ्नो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ । महर्जनले आगामी अगस्टमा दक्षिण कोरियाको सोलमा १४ औँ संस्करण हुने र यस प्रतियोगितामा खेल्ने राष्ट्रिय खुला फ्रेन्डसीप तेक्वान्दो प्रतियोगिताबाट छ खेलाडीको चयन भइसकेको जानकारी पनि दिए । राष्ट्रिय खुला फ्रेन्डसीप तेक्वान्दो प्रतियोगिता गत शनिवार राखेपमा सम्पन्न भएको हो । यसै गरी आइओएफटिसी प्रधान कार्यालयको तर्फबाट ग्रान्डमास्टर महर्जनले आइओएफटिसीद्वारा उपलब्ध गराइएको खेल सामग्री आइओएफटिसी नेपाललाई हस्तान्तरण गरे । 

Comment