छ खेलाडी छनोट


चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताबाट ६ खेलाडी दक्षिण कोरियाको सिओलमा अगष्ट २३ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का लागि आइतबार छनोट भएका छन् । ग्योरोगीमा ४ र एकल पुम्सेमा २ गरी ६ स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएका हुन् ।
कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सह–आयोजनामा भएको प्रतियोगिताअन्तर्गत ग्योरोगीको पुरुष ६३–६८ केजीमा एनटीएका सुवासचन्द्र बोहरा पहिलो भए । उनले फाइनलमा एनटीएकै आयुश ढुंगेललाई पराजित गरे । पुरुष ५४–५८ केजीमा कोटेश्वरका एलिस ठकुरीले फाइनलमा आफ्नै डोजाङका मान्देव भाट क्षेत्रीलाई हराउदै पहिलो भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको महिला ४६–४९ केजीमा कोटेश्वर तेक्वान्दो डोजाङकी इशिका राणाले स्वर्ण जितिन् । इशिकाले फाइनलमा चन्द्रागिरीकी सुमित्रा बलामीलाई पाखा लगाइन् । महिलाको ५३–५७ केजीमा चन्द्रागिरीकी सलिना धामी पहिलो भइन् । सलिनाले फाइनलमा चन्द्रागिरीकै रचना कुमाललाई पन्छाइन् ।
एकल पुम्सेको पुरुषमा एनटीएका भिजन ताामाङ तथा महिलामा कोटेश्वरकी सन्ध्या लामा पहिलो हुँदै छनोट भए । छनोटसंगै छ खेलाडीले जनही ५० हजार नगद पुरस्कार प्राप्त गरे ।
एनटीए टिम च्याम्पियन ः
प्रतियोगितामा एनटीए टिम च्याम्पियन बन्यो । एनटीएले ११ स्वर्ण, ३ रजत र ५ कांस्य जित्यो । ९ स्वर्ण, ४ रजत र ३ कांस्यसाथ कोटेश्वर दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको चन्द्रागिरीले ८ स्वर्ण, ६ रजत र ८ कांस्य प्राप्त ग¥यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाए ।
प्रतियोगिताको प्रशिक्षकमा मोतिलाल लामा तथा निर्णायकमा सारदा धिमाल उत्कृष्ट भए । दुवैले जनही १० हजार नगद पुरस्कार पाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत   गरे । प्रतियोगिताका लागि आईओएफटीसीका निर्देशक दिवाकर महर्जन पनि अमेरिकाबाट नेपाल आएका छन् ।

Comment