पुलिस च्याम्पियन

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बिहिबार भएको फाइनलमा आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।
नारायणी माविको खेल मैदानमा पुलिसले आर्मीलाई २५–१७,२५–१३ र २५–१९ को सेटमा हरायो ।
उपाधिसंगै पुलिसले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाख ७६ हजार २५१ नगदमा चित्त बुझायो । प्रतियोगिताको सेमिफाइनल पुगेका दुई टोली एपीएफ र गण्डकी प्रदेशले समान ५०–५० हजार प्राप्त गर्यो ।
यस्तै पुलिस क्लबका ओपन स्पाइकर कुल बहादुर थापा (हरि) उत्कृष्ट खेलाडी बने । उत्कृष्ट खेलाडी बनेसंगै कुल बहादुरले नगद १५ हजार प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा व्यक्तिगत विधामा पुलिसका खेलाडीको वर्चश्व रह्यो । उत्कृष्ट सर्भरमा पुलिसका विशाल बिक, सेटरमा कप्तान ईम बहादुर राना, डिफेन्डरमा भिम गाहा, ब्लकरमा दिपक राज जोशी र उत्कृष्ट प्रशिक्षक पुलिसकै सरोज श्रेष्ठ चुनिए । उत्कृष्ट स्पाइकरमा आर्मीका धन बहादुर भट्ट चुनिए । उत्कृष्ट हुनेले जनही ७–७ हजार नगद प्राप्त गरे ।
विजेता खेलाडीलाई प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य टंक आङबुहाङ, प्रदेश सभा सदस्य बल बहादुर साम्सोहाङ र प्रदेश सदस्य होम कुमारी साँवा लगायतले पुरस्कृत गरे । मैवाखोलागाउँपालिकाको व्यवस्थापन तथा जलजले युवा क्लब, न्यु पाथिभरा क्लब र मैवाखोला क्लबको आयोजनामा भएको प्रतियोगितामा सहभागिता रहेको थियो ।

Comment