तेक्वान्दो टोलीमा पुलिसको महत्वपूर्ण प्रभाव, युनिस्माको उदय


आसन्न टोक्यो ओलम्पिकका लागि छनोट खेल्ने नेपाली तेक्वान्दो टोलीमा नेपाल पुलिस क्लबको महत्वपूर्ण उपीश्थती रहेको छ । निमा गुरुङ र बिर बहादुर महराको निरन्तरतासंगै पुलिसका निश्चलमान श्रेष्ठ र मनोज मल्लले आइतबार सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको हलमा भएको छनोट खेलमा सफलता पाए ।
यी बाहेक नेपाल आर्मी क्लबकी युनिश्मा राइ छनोट भइन् । महिला ४९ किलो तौल समुहमा युनिश्माले विगत केही बर्ष देखि राष्ट्रिय टोलीमा प्रभाव जमाइरहेकी एपीएफकी अस्मिता खड्कालाई २८–२० ले पराजित गरिन् । सो तौल समुहमा नेपाल आर्मीमै आबद्ध अर्की खेलाडी काजल श्रेष्ठले चोटका कारण खेल त्यागेकी थिइन् ।
पूर्वाञ्चलमा सम्पन्न सातौ राष्ट्रिय खेलकुद देखि छाएका सागर गुभाजु ५८ किलोको फाइनलमा पुलिसका मनोज मल्लसंग २३–१६ ले पराजित भए । आर्मीकी ज्ञानी चुनारा तौलका कारण सहभागि भएकी थिइनन् । उनी रहदै आएको ५७ किलो तौल समुहको फाइनलमा निमाले आर्मीकी रेश्मा थापालाई २०–८ ले पराजित गरिन् । ८० किलो भन्दा मुनीको समुहमा निश्चलले आर्मीका रामहरी महतलाई १४–१० ले हराए । ७४ र ८० किलो दुवै तौल समुहमा सफल भइसकेका सक्षम कार्की पनि चोटग्रस्त भएका कारण सहभागि थिएनन् । महराले ६८ किलो समुहको फाइनलमा एपीएफबाट सहभागिता जनाएका कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन उमेस राजभण्डारीलाई ३३–१२ ले हराए ।

Comment