मुक्केवाज सुशीलले नागरिकता पाए


लामो समयदेखि नागरिकता नभएका कारण कठिनाइ भोगी रहेका राष्ट्रिय बक्सिङ खेलाडी सुशील थापाले बुधबार नागरिकता पाएका छन् । सुशीलका पिता शिव थापा मगर (स्वर्गीय) र आमा शान्तिको नागरिक नभएका कारण २३ वर्षीय सुशीललाई नागरिकता पाउन समस्या भइरहेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा गइ सनाखत गरिदिएपछि सुशीललाई नागरिकता पाउन सहज भएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुशीललाई वंशज नागरिकता हस्तान्तरण गरेका थिए । सुशील पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ४९ केजीका स्वर्ण विजेता हुन् ।
राखेप सदस्य–सचिव विष्टले देशको गौरव र सम्भावना बोकेको खेलाडीले नागरिकता पाउनु खुशीको कुरा भएको बताउदै जिल्ला प्रशासन कार्यालयले खेलाडीलाई न्याय गरेको धारणा व्यक्त गरे । उनले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेपले सुशीललाई नागरिकता दिलाउन पहल गरेको बताउदै १३ औं सागको तयारीका लागि सुशीललाई वैदेशिक प्रशिक्षणमा पठाउन बाटो खुलेको बताए ।
सदस्य–सचिव विष्टले खेल क्षेत्रको मात्र नभइ अन्य क्षेत्रका नागरिकता पाउनबाट छुटेको प्रतिभाहरुको पनि खोजी गरी नागरिकता दिन सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
सुशीलले नागरिकताकै कारण पासपोर्ट नबनेपछि चार अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउदा आफू निराश हुनु परेको स्मरण गर्दै नागरिकता पाएपछि आफूले जिन्दगीकै स्वर्ण पदक जितेको महशुस गरेको प्रतिक्रिया दिए । उनले बक्सिङ परिवारका साथै नागरिकता दिलाउन पहल गर्ने सम्पूर्णलाई धन्यवाद दिदै अब आफ्नो लागि भन्दा पनि देशका लागि केहि गर्छु भन्ने अठोट लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 

Comment