जिम्नासियाडमा नेपालले पाँच खेलमा भाग लिने


नेपालले आईएसएफ यु–१५ जिम्नासियाडमा विभिन्न ५ खेलमा सहभागिता जनाउने भएको छ । अगस्ट १९ देखि २७ तारिखसम्म ब्राजिलको रियो दि जेनेरियोमा हुने जिम्नासियाडमा समावेश विभिन्न ३२ खेल मध्ये नेपालले ५ खेलमा सहभागिता जनाउन लागेको हो । नेपालले थ्री बाइ थ्री बास्केटबल, बक्सिङ, पौडी, टेबल टेनिस टेनिस र तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने छ ।
टेबल टेनिसमा सिम्रिका घिमिरे र निभा योसी प्रजापतिले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पौडीमा आरुशा शाक्य, श्रयला महर्जन र सुगम श्रेष्ठ सिन्याले खेल्ने छन् । तेक्वान्दोमा उज्ज्वल वाग्ले, कृपन तामाङ र निश्चित कार्कीले प्रतिस्पर्धा गर्ने छन् । सम्यामी घिमिरे, आर्या पौड्याल, ओजस्वी श्रेष्ठ, उपमन्यु खन्डेल्वाल, सर्भाङ श्रेष्ठ, प्रणय बासी, प्रथम श्रेष्ठ, सम्राज श्रेष्ठ र आसिप महर्जनले बास्केटबलमा भाग लिने छन् । बक्सिङमा शेरप गेल्चेन शेर्पा र प्रकृति थापा सहभागी हुने छन् ।
भिआइपी डेलिगेटमा प्रदीप जोशी, हेड अफ डेलिगेसनमा मोहनकुमार कार्की, डेपुटी हेड अफ डेलिगेसनमा सोविनराज रेग्मी, निर्णायकमा धनकुमार मैनाली र रोशन बोहरा, प्रशिक्षकमा सदीश प्रधान, प्रकाश थापा मगर, राधाबहादुर तामाङ, अञ्जना काफ्ले र शरद दर्शनधारी तथा अफिसियलमा नवीन महर्जन र राजेश राई  रहेका छन् । टोलीसँगै आईएसएफ टिसी तेक्वान्दोका अध्यक्ष एवं नेपाल विद्यालय खेलकुद महासङ्घका महासचिव राजकुमार कार्की पनि टोलीसँगै ब्राजिल जाने छन् । चार दिनको अन्तरालमा फरक फरक समयमा टोली ब्राजिल जाने कार्यक्रम रहेको   छ ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टङ्कलाल घिसिङ, सदस्य द्वय अञ्जन धमला र प्रकाशकुमार कुसारी, नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल बास्केटबल सङ्घका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङलगायतले मंगलबार बिदाइ गरे ।

Comment