बाढी पीडितलाई जुडो संघ र सीडब्लुसीएनको सहयोग


नेपाल जुडो संघ र बाल वातावरण केन्द्र नेपाल (सीडब्लुसीएन) ले बाराका बाढी पीडितलाई अत्यवश्यक सामाग्री खरिद गर्न १ लाख १० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । जुडो संघको पहलमा जापानमा रहेको नेपालीहरुको संस्था ज्वाइन ह्यान्ड्स नेपालले संकलन गरेको रकम सहिद मुखलाल स्मृति प्रतिष्ठानमार्फत पीडितलाई सामाग्री खरिद गर्न प्रदान गरिएको हो ।
जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र सीडब्लुसीएनका अध्यक्ष समेत रहेका जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले प्रतिष्ठानका अध्यक्ष एवं पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई सोमबार रकम हस्तान्तरण गरे ।
प्रतिष्ठानले सो रकमबाट त्रिपाल १२० थान, चाउचाउ २५० बाकस, ओडोमस २२५ थान, पीयूष र जीवन जल १२५ थान तथा साबुन १२५ थान खरिद गरी पीडितलाई उपलब्ध गराउनु पर्नेछ । ढुवानी खर्च महंगो हुने भएको हुँदा सामाग्री खरिद नगरी रकम उपलब्ध गराइएको महासचिव श्रेष्ठले जानकारी गराए । विगत देखि सिडब्लुसिएन सामाजीक गतीबीधीमा उत्तिकै सक्रिय रहदै छ। सिडबब्लुसिएनको दैवी विपत्तीमा हुने गरेको भुमिका र विपन्न बर्गका बालबालीकालाई जुडो मार्फत सामाजीक जिवनमा स्थापीत गराउन उत्तिकै महत्वपूर्ण मानीन्छ ।

Comment