सृजनशीलका जुडो खेलाडी र आश्रितलाई सहयोग

कागेश्वरी मनोहरा नगरपालिका वडा ९ स्थित सृजनशील बाल सेवा परिवारमा आश्रित जुडो खेलाडीका साथै अन्य आश्रितलाई शनिवार खाद्यान्न र विद्यालय पोसाक सहयोग स्वरूप प्रदान गरिएको छ । जुडो विश्व भ्रमण दलका सदस्य फ्रान्सका लाउरेन्ट डी अलोभिराले उपलब्ध गराएको सहयोग आश्रितलाई हस्तान्तरण गरिएको हो । सहयोगका लागि अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका जुडो खेलाडी मोहन बमले पहल गरेका थिए । मोहनकै पहलमा विगत ३ वर्षदेखि लाउरेन्टले सृजनशीलका आश्रितलाई सहयोग गर्दै आएका छन् ।

सामाजिक तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएका संस्था किवानिज क्लब अफ एभरेस्ट, नेपाल, किवानिज क्लब अफ लालीगुराँस र किवानिज क्लब अफ सिन्धुपाल्चोकले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा किवानिज नेपालका डिस्ट्रिक्ट गभर्नर लक्ष्मण लम्साल, नेपाल जुडो सङ्घका अध्यक्ष दीपक हर्ष बज्राचार्य, जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रञ्जित र प्रशिक्षक चन्द्र डंगोललगायले सृजनशीलकी अध्यक्ष उमादेवी बस्नेतलाई सामाग्री हस्तान्तरण गरे । सोही अवसरमा सृजनशीलमा निःशुल्क जुडो प्रशिक्षण गराइ रहेका जुडो प्रशिक्षक उत्तम प्रताप राणालाई प्रोत्साहन स्वरूप ६० हजार तथा आश्रितको विद्यालय पोसाकका लागि करिब ६४ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष बस्नेतले सहयोगका लागि लाउरेन्टलाई धन्यवाद दिँदै पहल गरी दिएकोमा बमप्रति आभार प्रकट गरिन् ।

बमले विगतमा पनि व्यक्तिगत तथा अन्यसँग सहयोग जुटाएर नेपाली जुडो र खेलाडीलाई सहयोग गर्दै आएका छन् । सृजनशीलमा करिब २० जना अनाथ आश्रित छन् । ती मध्ये १५ जना जुडो खेल्छन् ।

Comment