युएस ओपनको महत्त्वपूर्ण जिम्मेवारी पछि राजेश क्यानडाको सेमिनारमा 

नेपालमा प्रशिक्षण र रेफ्री उत्तिकै स्थापित राजेश कर्माचार्यको प्रभाव अमेरिकामा पनि बढ्दो  छ । 

संसारकै परिचित तथा पान अमेरिकी क्षेत्रको सबैभन्दा बृहत् जुडो प्रतियोगितामा रेफ्रीको भूमिका निभाएका राजेशले खेलकुद न्युज डटकमसँगको कुराकानीमा यो अनुभव महत्त्वपूर्ण भएको बताएका छन् । 

२७ देखि ३० जुलाईसम्म २ हजार १ सय खेलाडीको सहभागिता रहेको प्रतियोगिताका केही फाइनल बाउट पनि राजेशले नै सञ्चालन गरेका थिए । राजेशले नेपालमा रहँदा नै युएस ओपन सञ्चालन गर्ने प्रयास गरे पनि सम्भव नभएको बताएका छन् । 

च्याम्पियनसिपमा उत्कृष्ट रेफ्रि गरेर बापत क्यानडामा हुने सेमिनारमा पनि उनी छनोट भएका छन् । १२ र १३ सेप्टेम्बरमा सो सेमिनार हुने छ । उनले रेफ्री बापत पाँचमा ४ दशमलव ७ अङ्क पाएका थिए । 

यस पटकको यु एस ओपनमा १२ भन्दा बढी देशका २१ सय खेलाडीले भाग लिएका थिए।दैनिक १२ घण्टा तीन दिन सम्म ६ म्याटमा लगातार च्याम्पियनसिप चलेको थियो ।

कर्माचार्य नेपालका सफल जुडो प्रशिक्षक तथा रेफ्रि हुन्। उनी सन् २०१४ देखि अमेरिकामा छन् ।

जनकपुरबाट वीरगन्ज गएर उनले त्यहाँ जुडो खेलको आधार मात्र तयार गरेका थिएनन्, पावर हाउसको रूपमा स्थापना गरेका थिए । ५० प्रतिशत भन्दा बढी राष्ट्रिय टोलीमा प्रवेश गराउन सफल राजेशकै उत्पादन लीला अधिकारीले एसियन जुनियर जुडोमा पदक जित्दै नेपालको एसियाली तहमा उपस्थितिको सुरुवात गरेकी थिइन् । यसै गरी लिटल एन्जल्सका उत्पादन सरोज महर्जनले एउटै दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेर कीर्तिमान कायम गरेका थिए । 

पटीयालाबाट एनआइएस कोर्समा सबैभन्दा बढी स्कोर गर्ने नेपालीको कीर्तिमान समेत राखेका राजेश नेपालमा सहायक प्रशिक्षकमा सिमित थिए ।  

Comment