दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिताको तयारी

पोखरा
पोखरा भ्याली स्पोर्टस् क्लब रामबजार पोखराका आयोजनामा आगामी पुस ७ देखि १२ गतेसम्म दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ हुने भएको छ।
माछापोखरी खेलमैदान संगमटोलमा खेलाइने प्रतियोगितालाई रोचक बनाउन र सफलतापूर्वक सम्पन्न गराउनको लागि मात्र ३२ टीमलाई सहभागी गराइने क्लबका उपाध्यक्ष एवं खेल प्रयोजक नरेन्द्र (राजु) गुरुङले जानकारी दिए।
छ दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा विजेता टीमलाई नगद ८० हजार तथा उपविजेता टीमलाई नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै बेस्ट प्लयेर र फेयर प्ले टीमलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ।प्रथम पुरस्कारको प्रायोजन हङकङमा रहेका विक्की गुरुङ र डल्फिन ब्वाइज क्लबका साथीहरूले गरेका छन्। यस्तै कोरियामा रहेका क्लबका सदस्यहरू घुमराज गुरुङ, अमित गुरुङ, दिनेश गुरुङ, रुविन गुरुङ र भविन गुरुङले ५० हजार तथा क्लबका वरिष्ठ सल्लाहकार एवं युकेमा बस्दै आएका महेश गुरुङले १० हजार रुपैयाँ सहयोग गरेको उपाध्यक्ष गुरुङले जानकारी दिए।
छ लाख ५५ हजार खर्च हुने तथा आठ लाख चार हजार पाँच सय आम्दानी हुन अनुमान गरिएको प्रतियोगिताबाट बचत भएको रकमको ५० प्रतिशत अमन गुरुङ अक्षयकोषमा जम्मान गर्ने तथा ५० प्रतिशत रकम क्लब सञ्चालनमा खर्च गरिने क्लबका कार्यबाहक अध्यक्ष खेम गुरुङले जानकारी दिए। हालसम्म अमन गुरुङ अक्षयकोषमा हाल १० लाख रुपैयाँ जम्मा भएको छ। पोखरा भ्याली स्पोर्टस् क्लबका पूर्व खेलाडी अमन गुरुङको स्मृतिमा गत वर्षदेखि प्रतियोगिता सञ्चालन हुँदै आएको छ। डिफेण्डिङ च्याम्पियन आयोजक टीम नै हो।
प्रतियोगिता सम्पन्न गर्न क्लबका कार्यबाहक अध्यक्ष खेम गुरुङको संयोजकत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ।

Comment