आर्मी र एपीएफ च्याम्पियन

boxing finale
नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले खुला राष्ट्रव्यापी बक्सिङ प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । आर्मी ८ स्वर्णसहित पुरुषमा टिम च्याम्पियन बन्यो । १ स्वर्ण र ४ रजतसाथ एपीएफ दोश्रो तथा १ स्वर्णसाथ नेपाल प्रहरी क्लब तेश्रो स्थानमा रहे । आर्मीले ३० हजार, एपीएफले २० हजार र प्रहरीले १० हजार नगद पुरस्कार हात पारे ।
महिलातर्फ टिम च्याम्पियन बनेको एपीएफले ५ स्वर्णमाथि कब्जा जमायो । २ स्वर्ण जितेको प्रहरी दोश्रो भयो भने तेश्रो स्थानमा रहेको आर्मीले १ स्वर्णमा चित्त बुझायो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार जिते । नगद पुरस्कार नेपाल बक्सिङ संघका संस्थापक स्व. लक्ष्मणशमशेर थापाकी धर्मपत्नी नयनाराज्यलक्ष्मीले प्रायोजन गरेकी हुन् ।
पुरुषको ४९ केजीमा तेजबहादुर देउवा, ५२ केजीमा प्रेम चौधरी, ५६ केजीमा पुरन राई, ६० केजीमा भूपेन्द्र थापा, ६४ केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता दीपक श्रेष्ठ, ६९ केजीमा सन्दिप बेन्जु, ७५ केजीमा विष्णुप्रसाद घले, ८१ केजीमा दीपेश लामा, ९१ केजीमा महेन्द्र केसी तथा ९१ केजीमाथि श्याम खड्काले स्वर्ण जिते । पुरन एपीएफ र भूपेन्द्र प्रहरीका हुन् भने बाँकी सबै ८ स्वर्णधारी आर्मीका हुन् ।
महिलाको ४८–५१ केजीमा एपीएफकी माला राई पहिलो भइन् । फाइनलमा मायाले १३ औं सागकी कांस्यधारी मिनु गुरुङलाई पराजित गरिन् । ४६–४८ केजीमा प्रहरीकी दिवाना शेर्मा, ५१–५४ केजीमा एपीएफकी सन्जु लामा, ५४–५७ केजीमा आर्मीकी निरु गुरुङ, ५७–६० केजीमा १३ औं सागकी कांस्य विजेता सरस्वती राना, ६०–६४ केजीमा एपीएफकी मुगा पाख्रिन, ६४–६९ केजीमा प्रहरीकी अनुराधा रालमा तथा ६९–७५ केजीमा एपीएफकी संगीता सुनारले शीर्ष स्थान हात पारे ।
विजेतालाई एनेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवं उर्जा मन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव युवराज लामा, आयोजक अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुन केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा ६० पुरुष खेलाडीले १० तथा २२ महिला खेलाडीले ८ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

Comment