प्रकाशकै प्रशिक्षणमा अर्को महत्त्वपूर्ण सफलता

युएईमा भएको आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापासहितको टोली आइतबार काठमाडौँ आइपुगेको छ ।
३ देखि १४ डिसेम्बरसम्म प्रतियोगिताको ५४ केजी तौल समूहमा राखेपले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका चन्द्रले इन्डोनेसिया, अर्मेनिया, र इरानका खेलाडीलाई हराउँदै कांस्य पक्का गरेका थिए । कांस्यसँगै चन्द्रले ७५ हजार अमेरिकी डलर पुरस्कार पनि पाए । सेमिफाइनलमा चन्द्र कजाखस्तानका विबोसिनोभ साकिनसँग पराजित भएका थिए । विश्व बक्सिङमा पदक जित्ने चन्द्र एक्लो नेपाली मुक्केबाज हुन् ।
चन्द्रसँगै प्रतियोगितामा नेपालबाट ५ खेलाडी सहभागी थिए । ४८ केजी लालप्रसाद उप्रेती, ५१ केजीमा फुङलाङ काम्वाङ, ६० केजीमा खगेन्द्र रोका मगर र ८० केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । लालप्रसादले क्वाटर फाइनलसम्मको यात्रा तय गर्दै १० हजार अमेरिकी डलर जिते । बाँकी खेलाडी पहिलो चरणबाटै बाहिरिए । प्रशिक्षकमा प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुन मगर रहेका थिए ।
यो सफलताले नेपाली खेल क्षेत्रमा प्रशिक्षक प्रकाश थापा मगरको महत्वलाई अझ बढी उजागर गरेको छ । खेलाडी र प्रशिक्षकको रूपमा आफूलाई उत्कृष्ट साबित गर्ने सवालमा प्रकाश बारम्बार सफल भएका छन् । खेलाडीको रूपमा आठौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक पाएका प्रकाशकै मुख्य प्रशिक्षणमा नेपालले १३ औ दक्षिण एसियाली खेलकुदमा ३ स्वर्ण, ६ रजत तथा ६ कांस्य पदक पाएको थियो ।
प्रकाश नै मुख्य प्रशिक्षक रहेको समयमा चन्द्रले महत्त्वपूर्ण सफलता पाएका हुन् । नेपाली खेल क्षेत्रमा नै खेलाडी र प्रशिक्षकको रूपमा सफलता पाउने सीमित व्यक्तिको कोटीमा प्रकाश शीर्ष व्यक्ति बनेका छन् ।