पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घले सम्मानित

ghalle sammane
राष्ट्रिय फुटबल टोलीबाट नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका वाइबी घले (यमबहादुर) लाई फ्युचर स्टार हाइ स्कुल, जावलाखेलले शनिबार नगदसहित सम्मान गरेको छ । फ्युचर स्टारको वार्षिक खेलकुद दिवसका अवसरमा घलेलाई जावलाखेलमा सम्मान गरिएको हो ।राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक एवं छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले साग) अन्तर्गत फुटबलमा स्वर्ण जित्ने टोलीका सदस्य लोकबहादुर शाही र फ्युचर स्टारकी प्रिन्सिपल मन्जु कार्की लामिछानेले घलेलाई सम्मान पत्र र नगद १० हजार प्रदान गरी सम्मान गरे ।
करिब १० वर्ष राष्ट्रिय फुटबल टोलीमा आबद्ध घलेले १९८२ मा भारतको दिल्लीमा भएको एसियाली खेलकुदको फुटबलमा गरेको गोल नै नेपाली खेलाडीले गरेको पहिलो अन्तर्राष्ट्रिय गोल मानिन्छ । १९८४ मा काठमाडौंमा भएको पहिलो साफको फुटबलमा नेपालले स्वर्ण जित्दा घले पनि टोलीका हिस्सा थिए ।५८ वर्षियघलेले विश्व कप, ओलम्पिक छनोटलगायत थुप्रै अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । घले प्रख्यात ‘भिक्टोरिया क्रस’ बाट विभूषित स्व. गजे घलेका छोरा हुन् ।
३५ वर्षअघि स्थापना भएको फ्युचर स्टारको खेलकुद दिवसमा ब्याडमिन्टन, बास्केटबल, फुटबल, टेबलटेनिस र एथलेटिक्सतर्फ जम्मा ३२ स्वर्णका लागि आन्तरिक प्रतिस्पर्धा भएको थियो । विजेतालाई शनिबारै एक कार्यक्रमबीच पुरस्कृत गरियो ।

Comment