पदक विजेता महिला कबड्डी टोली स्वदेश फर्कियो

जापानमा भएको २० औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी टोली बुधवार स्वदेश फर्किएको छ ।
सेप्टेम्बर २१ देखि २६ तारिखसम्म नागोयास्थित टोकाइ सिटिजन जिम्नाजियममा भएको कबड्डीमा महिला टोलीले कांस्य पदक जितेको थियो । महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक कांस्य जितेको छ । पहिलो सहभागितामै नेपालले १९ औँ संस्करणको हाङझाव एसियाडमा पनि कांस्य जितेको थियो । महिला कबड्डीमा नेपालसहित ८ राष्ट्र सहभागी थिए ।
समूह ‘बी’ को लिगमा नेपालले थाइल्यान्डलाई ४६–४३ र श्रीलङ्कालाई ३४–२५ ले हराएको थियो । गत संस्करणको उपविजेता चाइनिज ताइपेईंसंग ३७–१८ ले चुकेपछि नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनल पुगेसँगै नेपालले कम्तीमा कांस्य पदक निश्चित गरेको थियो ।

सेमिफाइनलमा नेपाल भारतसँग १८–३७ ले पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन भारत नै उपाधि जित्न सफल भयो ।
टिम स्पर्धामा लगातार दुई संस्करणमा पदक जित्ने नेपाली महिला कबड्डी टोली पहिलो हो ।
मानमति विष्टको कप्तानीमा रहेको टोलीका अन्य सदस्यमा रविना चौधरी, गङ्गा घिमिरे, नानुमाया पराजुली, विनीता पण्डित क्षेत्री, जयन्ती बडू, आस्मा यादव, खिममाया खत्री, मेनुकाकुमारी राजवंशी, मिना नेपाली, सिर्जनाकुमारी थारु र मनीषा जोशी रहेका छन् । यो टोलीका सदस्य मानमति, मेनुका, जयन्ती, रविना, सिर्जना र गङ्गा १९ औँ हाङझावको पनि हिस्सा थिए ।
मुख्य प्रशिक्षकमा पार्वती राई, सहायक प्रशिक्षकमा लोकबहादुर विष्ट र व्यवस्थापकमा शरद दर्शनधारी छन् । हाङझाव एसियाडमा पनि पार्वती मुख्य प्रशिक्षक थिइन् ।

दस राष्ट्र सहभागी पुरुष कबड्डीमा भने नेपाल समूह चरणबाटै बाहिरियो । ५ राष्ट्र रहेको समूह ‘ए’ मा नेपालले लिगमा १ मा जित र बाँकीमा पराजय व्यहोर्यो । नेपालले मलेसियालाई ६३–५२ ले हराएको थियो । अन्य खेलमा नेपाल थाइल्यान्डसँग ४८–५९, पाकिस्तानसँग ४३–५८ र इरानसँग २३–७६ ले पराजित भएको थियो । पुरुष कबड्डीमा नेपालको पाँचौँ सहभागिता हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव राम चरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, राखेपका सदस्य द्वय मोनालिसा खम्बु र ललिता नाथ, खेलाडी, प्रशिक्षक, विभागीय टोलीका प्रतिनिधि, शुभचिन्तक, आफन्तलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
