दुई वर्षमै सफलताको शिखर उन्मुख नेपाली कबड्डी

नेपालमा धेरै खेल सङ्घहरूको गतिविधि हेर्दा निराशाजनक र वाक्क लाग्दो नै छ । त्यसै नियति भोगी रहेको थियो, नेपाल कबड्डी संघले पनि ।दुई वर्ष अघि भएको साधारण सभाले भने नेपाली कबड्डीलाई नै नयाँ मोड दियो । साधारण सभाले अरविन्द झालाई महासचिवमा चयन गरेको हो ।
पछिल्लो समय एसियाडमा कांस्य पदक जित्दै नेपाली कबड्डीले नयाँ इतिहास कायम गर्न सफल भयो । एसियाडमा पदक जित्ने पहिलो टिम खेलको रूपमा कबड्डी दर्ज भयो । कबड्डीको सफलता यत्तिमा सीमित रहेन, विश्वकपमा पाँचौँ स्थान तथा एसियन च्याम्पियनसिपमा कांस्य पदक नेपाली कबड्डीले यस बिचमा प्राप्त गरेका थप सफलताहरू हुन् ।
नेपालका यी सफलताकै बारे अरविन्दको कथन प्रस्ट छ, प्रस्ट कार्यक्रमले नै कबड्डीलाई सफलताको बाटोमा अघि बढाएको हो ।’
यस अघि नेपाली कबड्डीको एउटा प्रचलन थियो, अन्तर्राष्ट्रिय प्रतियोगितामा टिकट पाए मात्र नेपालले सहभागिता जनाउने गरेको थियो । अहिले प्रचलन फेरिएको छ । सङ्घ आफैले जोहो गरेर भए पनि प्राय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने गरेको छ ।
कबड्डीको सफलता यो मात्र होइन , व्यावसायिकता पनि अघि रहेको छ । नेपालमा पहिलो पटक कबड्डी फ्रेन्चाइज भएको छ । संसारमा नै कबड्डी फ्रेन्चाइजको आयोजना गर्ने नेपाल दोस्रो हो । पहिलो संस्करणको सफलताले कबड्डीलाई थप उत्साहित बनाएको छ ।
उमेर समूह, विद्यालय तहमा खेलकुद लगायत विषयमा कबड्डी सङ्घको प्रस्ट योजना छ । यस कारण सङ्घ विश्वकपमा पनि सफलता पाउने कुरामा आशावादी छ । सङ्घको आकलन यत्तिमा सीमित छैन । आउँदो एसियाडमा महिला र पुरुष स्पर्धामा पक्कै पदक पाउने कुरामा महासचिव झा विश्वस्त छन् ।

महासचिव झा कबड्डी विकासका कुशल योजनाकार
नेपाली कबड्डीको यसै प्रस्ट सोच र नीतिका कारण अफिसियल मात्र होइन,अन्य प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालले सफलता पाएको छ । वङ्गबन्धु कपमा पदक पाउने सफलतालाई झा नेपाली कबड्डीका लागि अनुपम उपलब्धि ठान्छन् ।
झाले भने झैँ नेपाली खेलकुदमा चलेको बेतिथिबाट सो सङ्घ विमुख नै छ । कार्यालय व्यवस्थापन, प्रशासनिक अपडेट, खेलाडी छनोट र आर्थिक विषयमा पारदर्शी हुनु झाको महासचिव कालका विशेषता हुन् ।
पछिल्लो दुई वर्षको नेपाली कबड्डीमा कोरिएको नयाँ आयामले भन्छ,‘ नेपालका धेरै सङ्घका लागि कबड्डीका सफलता नयाँ पाठ पनि हुन् ।’
