धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि

Manoj Shiama
27 September, 2026 3:56 pm

दोस्रो काठमाडौँ –१० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगितामा र खोटाङका धिरेन राईले उपाधि जितेका छन् । 

  स्विस लिग प्रणालीमा नौ चरणमा आयोजना भएको सो प्रतियोगितामा धिरेनले ८दशमलव ५ अङ्क जोडे । झापाका ज्वाला लिम्बुले ८ अङ्क सहित दोस्रो स्थान पाए । मकवानपुरका क्षितिज भण्डारी ७ दशमलव ५ अङ्क सहित तेस्रो भए । समान अङ्क भएका भक्तपुरका निकेन कुसाथा चौथो भए । यसै गरी रौतहटका सुमन लामा पाँचौँ तथा राजेन्द्र प्रसाद श्रेष्ठ छैटौँ भए । 

दुई दिने सो प्रतियोगितामा ७ अङ्क भएका रिसन थापा, मिसन दाहाल, शैलेन्द्र न्यौपाने र प्रकाश चन्द्र नेपाल शीर्ष १० स्थानमा रहे । 

काठमाडौँ महानगरपालिका –१० को आयोजनामा नयाँ बानेश्वरमा  सम्पन्न प्रतियोगितामा  भएको हो । प्रतियोगितामा २ सय २० खेलाडीको सहभागिता थियो । प्रतियोगिताको उपाधि विजेताले २६ हजार २ सय ५० तथा उपविजयीले २२ हजार ५ सय रुपैयाँ पुरस्कार पाए  । 

तेस्रो हुनेले १८ हजार तथा चौथो हुनेले ११ हजार २ सय ५० रुपैयाँ पुरस्कार पाए । पाँचौँ देखि १० औ स्थान पाउनेले ७ हजार ५ सय रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताका विजेता खेलाडीलाई आयोजक वडाका अध्यक्ष राम कुमार केसी, सचिव सुबोध खड्का तथा प्रतियोगिता निर्देशक इन्द्र कुमार बस्नेत लगायतले पुरस्कार प्रदान गरे । 

सो अवसरमा बोल्दै बस्नेतले प्रतियोगिताले नेपाली बुद्धिचाललाई नयाँ आयाम दिने विश्वास रहेको बताए । काठमाडौँमा बसोबास गर्दै आएका दोलखाका बस्नेत लामो समय देखि नेपाली चेस खेलको विकासमा सक्रिय छन् । काठमाडौँ महानगरपालिका –१० को आयोजनामा भएको प्रतियोगितामा थापाथली पार्क चेस क्लबले प्राविधिक सहयोग गरेको हो ।