त्रियोग स्कुल चेस सम्पन्न

Manoj Shiama
24 July, 2026 9:24 pm

छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगितामा  आयोजक त्रियोग हाइ स्कुल, अन्नपूर्ण स्कुल, पुष्प सदन स्कुल, मार्भलेस स्कुल र मातृभूमि स्कुलले आफ्नो समूहमा पहिलो स्थान पाएका छन् । अन्नपूर्ण र आयोजक त्रियोगले कक्षा १ देखि ३ समूहमा संयुक्त रूपमा पहिलो स्थान पाए । पुष्प सदनले ४ र ५ कक्षा समूहमा पहिलो स्थान पाएको हो । यसै गरी, कक्षा ६ र ७ को समूहमा मार्भलेस स्कुल तथा ९ र १० समूहमा मातृभूमि स्कुलले पहिलो स्थान पाए ।  

प्रतियोगितामा कक्षा १ देखि ३ समूहमा छात्रामा अन्नपूर्णकी तथा छात्रामा  अन्नपूर्णकी रिहाना श्रेष्ठ पहिलो भइन् । युरो स्कुलकी आदिसी भट्टराई दोस्रो तथा ब्रिटिस स्कुलकी भार्गभी बरारिया तेस्रो भए । 

छात्रको समूहमा काठमाडौँ गुरुकुलका सुनभ ओझा पहिलो भए । सो समूहमा नितेन मेमोरियलका अभिषेक विके दोस्रो तथा त्रियोगमा देब्यान पाण्डे तेस्रो भए । 

छात्राको कक्षा ४ र ५ समूहमा इम्पेरियल स्कुलकी अग्रता आचार्य पहिलो तथा सेन्ट मेरिजकी श्रीषा बल्ल दोस्रो भए । पुष्प सदनकी परिश्री श्रेष्ठ तेस्रो भइन् । सोही उमेर समूहको छात्र तर्फ तिलिङटार स्कुलका राजन साह पहिलो भए । रातो बङ्गलाका सुभाङ्ग प्रधान दोस्रो तथा डिएभीका रियान्सु पौडेल तेस्रो भए । 

छात्रा कक्षा ६ र ७ समूहमा मार्भलेसका सोनालिका सराफ तथा सुहानी सिंह शीर्ष दुई स्थानमा रहे । यसै गरी फ्युचर स्टार स्कुलकी ग्लोसी श्रेष्ठ तेस्रो भइन् । 

छात्र तर्फ सैनिक आवासीय माविका हृदय बस्नेत पहिलो, ग्रिन ल्यान्डका सुलभ पन्थी दोस्रो तथा संस्कृति इन्टरनेसनल स्कुलका सम्भव थुलुङ तेस्रो भए । 

छात्राको कक्षा ८ देखि १० समूहमा अन्नपूर्णकी ओजस्वी श्रेष्ठ पहिलो, अभिव्यक्ति तामाङ दोस्रो तथा मनकामनाकी जिज्ञासा खनाल तेस्रो भए । छात्र तर्फ पाठशालाका ओसकार पन्थी पहिलो, नि सर्ग बाटिकाका सात्त्विक मान तुलाधर दोस्रो तथा मातृभूमिका साविद् प्रजापति तेस्रो भए । 

विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष गोपालकृष्ण कक्षपती तथा विशेष अतिथि पूर्व राष्ट्रिय च्याम्पियन नवीन तण्डुकार र बद्री लाल नेपाली, विद्यालयका कार्यकारी निर्देशक अजित लामा तथा प्रिन्सिपल चन्द्रायन प्रधान श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे । 

आयोजक त्रियोग हाई स्कुलको ४० औ वार्षिकोत्सवको उपलक्ष्यमा प्रतियोगिताको आयोजना गरिएको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख दिपा भट्टले जानकारी दिइन् । प्रतियोगिताको संयोजक विद्यालयका चेस शिक्षक पूर्व राष्ट्रिय च्याम्पियन तथा फिडे ट्रेनर केशव श्रेष्ठ थिए ।  प्रतियोगितामा ७६ विद्यालयका ६ सय भन्दा बढी खेलाडीको सहभागिता थियो ।