पोखरा भ्याली स्पोर्टस् क्लब च्याम्पियन

??????????????????????????????? पोखरा
भ्याली स्पोर्टस् क्लब रामबजारले पोखरामा जारी स्व. बलराम केसी स्मृति अन्तरक्लब कास्की जिल्लास्तरीय लिगकम नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ।
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजनामा तथा कास्की जिल्ला फुटबल सङ्घको व्यवस्थापनमा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत बुधबार भएको फाइनलमा डेमसाइड क्लबलाई ३–२ ले पराजित गर्दै पोखरा भ्याली स्पोर्टस् क्लबले दोस्रोपटक जिल्लास्तरीय लिगकम नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो।
निर्धारित ४०–४० मिनेटको समय दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। १०–१० मिनेट खेलाइएको अतिरिक्त समयको १९ मिनेटमा पोखरा भ्याली स्पोर्टस् क्लबका लागि गोविन्द थापाले निर्णायक गोल गरेका थिए। उपाधिसहित पोखरा भ्यालीले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेतामा सीमित डेमसाइडले नगद १५ हजारमा चित्त बुझायो।दोस्रो पुरस्कार स्व. बलराम केसी स्मृति प्रतिष्ठानले प्रायोजन गरेको थियो।
यसअघि खेलको आठ मिनेटमै चुडा चौधरीको गोलमार्फत अग्रता लिएको डेमसाइडले १९ मिनेटमा बराबरी गोल खायो। पोखरा भ्यालीका श्रमिक गुरुङले बराबरी गोल फर्काएका थिए। त्यसको १५ मिनेटपछि श्रमिकले नै पोखरा भ्यालीको लागि व्यक्तिगत दोस्रो गोल गरे। २–१ ले पछि परे पनि दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको डेमसाइडले ७० मिनेटमा बराबरी गोल फर्कायो। सिन्कामान तामाङको शक्तिशाली प्रहार नियन्त्रणमा लिइसके पनि पोखरा भ्यालीका गोलकिपर सागर गुरुङले फुत्काएपछि बलले गोललाइन क्रस गरेको थियो।
७५ मिनेटमा आफ्नै साथीसँग ठोकिएर घाइते भएका डेमसाइडका खेलाडी भरत मगर मैदानबाट बाहिरिए। उनलाई तत्काल सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीको एम्बुलेन्समा राखेर उपचार गर्न लगिएको थियो। तीनजना खेलाडी अगाडि नै परिवर्तन गरिसकेकोले डेमसाइड बाँकी पाँच तथा अतिरिक्त २० मिनेट १० खेलाडीमा सीमित हुन पुग्यो। त्यसैको फाइदा पोखरा भ्यालीले लिन सफल भयो। प्रतियोगितामा गार्डेन एफसीले फेयर प्ले अवार्ड तथा पोखरा भ्यालीका श्रमिक गुरुङले बेस्ट प्लयेरको अवार्ड पाए।
विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख अतिथि पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत उदयबहादुर रानामगर, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष एवं नेपाल क्रिकेट सङ्घ क्यानका कार्यबाहक अध्यक्ष दीपक कोइराला र  कार्यालय प्रमुख डेमबहादुर बस्नेत लगायतले पुरस्कार वितरण गरे ।
कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष धरमबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय खेलकुद विकास समितिका नासु डीबी नेपालीले गरेका थिए। चैत ८ गतेदेखि सञ्चालित सो प्रतियोगितामा जिल्ला फुटबल सङ्घमा आवद्ध १५ क्लबको सहभागिता रहेको थियो।

Comment