आयोजक टीमलाई प्रथम बिएनएस कप सेभेन–ए–साइड फुटबल प्रतियोगिताको उपाधि

???????????????????????????????
पोखरा
आयोजक टीमले लेखनाथ–१ भण्डारढिकस्थित प्रस्तावित रड्डशालामा जारी प्रथम बिएनएस कप सेभेन–ए–साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
बिएनएस लेखनाथ–१ भण्डारढिक सैनिकवस्तीको आयोजना तथा आदर्श युवा क्लबको संयोजनमा शनिबार भएको फाइनल खेलमा ड्रिम एफसीलाई २–१ ले पराजित गर्दै आयोक टीम बिएनएस ब्वाइज क्लब ए ले उपाधि जितेको हो। आयोजक टीमको जीतमा बेलप्रसाद गुरुङ र भिसन गुरुङले एक–एक गोल गरेका थिए भने ड्रिम एफसीको तर्फबाट प्रविन थापाले सान्त्वना गोल गरेका थिए।
खेल सुरु भएको तेस्रो मिनेटमै बेलप्रसाद गुरुङको गोलमार्फत अग्रता लिएको बिएनएस ब्वाइज ए ले दोस्रो हाफको १४ मिनेटमा भिसन गुरुङले दोस्रो गोल थपे। २१ मिनेटमा ड्रिम एफसीको लागि प्रविजन थापाले गोल गर्दै खेलमा फर्कने संकेत गरे पनि पूरा हुन सकेन।
उपाधिसँगै बिएनएस ब्वाइज क्लबले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो भने उपविजेता ड्रिम एफ,सीले नगद २५ हजारमा चित्त बुझायो। प्रतियोगितामा सर्वाधिक नौ गोल गरेका बिएनएस ए का भिसन गुरुङ हाइस्कोरर, बिएनएस ए कै विमल क्षत्री बेस्ट गोलकिपर तथा ड्रिम एफसीका सुनिल विक बेस्ट प्लयेर घोषित भए। उनीहरूले ट्रफी प्राप्त गरे।
विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि मुख्य प्रायोजक राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य राजेशकुमार गुरुङ, नेपाली काङ्ग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछाने, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने, सुयश इन्टरनेशनल प्रालिका अध्यक्ष तुलसीमानसिंह बस्नेत, निर्देशक डीबी गुरुङ, जापानिज मासेकी हारोयुकी, अखण्ड नेपाल पार्टी लेखनाथका अध्यक्ष मोती गिरी, लेखनाथ नगर खेलकुद समितिका अध्यक्ष चेतबहादुर गुरुङ, राप्रपा लेखनाथका अध्यक्ष हेमबहादुर हमाल, क्लबका संयोजक अमन गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि गुरुङले लेखनाथलाई खुल्ला दिसामुक्त क्षेत्रको रूपमा घोषण गरेजस्ीतै चन्दामुक्त क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने बताए। उनले व्यवसाय गरेर खान पाउनुपर्ने अधिकारको ग्यारेन्टी प्रशासनले गर्नुपर्ने भन्दै त्यस्तो स्थिति आए मात्र सङ्घसंस्थालाई सहयोग गर्न सकिने दाबी गरे।
कार्यक्रममा काङ्ग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछाने, नेकपा एमाले लेखनाथका अध्यक्ष मोहन गुरुङ र  खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने लगायतले मन्तव्य राखेका थिए।
बिएनएस ब्वाइज क्लबका संयोजक अमन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक विनोद थापाले स्वागत मन्तव्य र सदस्य पदम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। चैत ३ गतेदेखि सञ्चालित प्रतियोगितामा २४ टीमको सहभागिता रहेको थियो।

Comment