सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता चैत मध्यमा

apf press conference
काठमाडौं, सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा  ११ देखि १५ चैतसम्म ‘सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७१’ संचालन हुने भएको छ ।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले बिहिबार पत्रकारसम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिताको कूल पुरस्कार राशी पाँच लाख रुपैयाँ छ । गतवर्ष कूल पुरस्कार राशी चार लाख २५ हजार रुपैयाँ रहेको थियो ।
प्रतियोगितामा कूल १४ वटा इभेन्ट्स समावेश रहने छन् । उक्त प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित एपीएफ लनटेनिस कोर्ट तथा ललितपुरको सातदोबाटोस्थित लनटेनिस कोर्टमा संचालन गरिने छ ।
प्रतियोगितामा समावेश इभेन्ट्सहरुमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, मिश्रित युगल, नेपाल सरकारको सेवामा कार्यरत तथा अवकाश प्राप्त (नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती सेवाका राजपत्राङ्कित अधिकृत) हरुको लागि एकल र युगल तथा भेट्रान्सतर्फ एकल र युगलतर्फको ३५ वर्ष, ४५ वर्ष, ५५ वर्ष माथिका खेलहरु तथा यसपटक थप गरिएको  ६५ वर्ष माथि भेट्रान्स युगल इभेन्ट्स छन् ।
पुरुष एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार र क्वाटर फाइनलिष्टलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छभने पुरुष युगलतर्फ प्रथम पुरस्कार ४० हजार रुपैयाँ तथा द्वितिय र तृतीय पुरस्कारको राशी २०÷२० हजार रुपैयाँ रहेको छ ।
यसैगरी महिला एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको छभने महिला युगलतर्फ प्रथम पुरस्कार ४० हजार, द्वितिय र तृतीय पुरस्कारको राशी २०÷२०  हजार रुपैयाँ रहेको छ । यसैगरी मिश्रित युगलतर्फ प्रथम पुरस्कार ४० हजार तथा द्वितिय र तृतीय पुरस्कार २०÷२० हजार रुपैयाँ रहेको छ ।    आइटिएफ र एएनएलटिए को नियमअनुसार बेष्ट अफ थ्रीका आधारमा संचालन हुने छ ।

Comment