फुलकन्ट्याक्ट कराँते महासङ्घको अन्तरक्रिया

नेपाल फुलकन्ट्याक्ट कराँते महासङ्घले विविध विषयमा छलफल गरी राय सुझाव लिन ललितपुरको प्रयाग पोखरीस्थित ललितपुर जिल्ला खेलकुद विकास समितिको सभाकक्षमा शनिवार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष दमन बस्नेतले महासङ्घलाई अझ कसरी सशक्त ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बताउँदै महासङ्घ प्रति केही गुनासा भए सम्बद्ध पदाधिकारीहरूलाई भेटी आफ्ना कुरा राख्नु पर्नेमा जोड दिए ।
उनले महासङ्घले गरेका विभिन्न कार्यक्रम तथा भावी दिनमा गरिने कार्यक्रमका बारेमा जानकारी गराए । त्यसै अवसरमा उनले कोरोना भाइरस (कोभिड– १९) का कारण दिवङ्गत भएका क्योकुसिन कराँते प्रशिक्षक रामजी प्रसाद बज्राचार्यको स्मृतिमा स्थापन गरिने कोषका लागि विभिन्न संस्था र व्यक्तिबाट प्राप्त आर्थिक सहयोगका बारेमा पनि जानकारी गराएका थिए । उनले कोषमा जम्मा हुने रकमको ब्याजबाट प्रत्येक वर्ष स्व. बज्राचार्यको स्मृतिमा क्योकुसिन कराँतेका एक पुरुष÷महिला खेलाडीलाई उत्कृष्ट खेलाडी चयन गरी पुरस्कृत गर्ने योजना रहेको अवगत गराए । कार्यक्रममा सहभागी क्योकुसिनकर्मीहरुले आ–आफ्नो धारणा राखेका थिए ।
Comment