टेनिस विजेता सम्मानित

tennis samman
नेपाल जुनियर ओपन टेनिस च्याम्पियनसिप (जुनियर लनटेनिस खेलाडीहरुका अभिभावक) ले कतारको दोहामा भएको कतार एसियाली जुनियर टेनिस टिम कपमा तेश्रो भएको नेपाली टोलीलाई सोमबार सम्मान गरेको छ ।
डिसेम्बर २३ देखि ३० तारिखसम्म भएको उक्त प्रतियोगतामा संरक्षकभूषण वज्राचार्य, रेन्जन लामा, प्रणव खनाल र सम्यकभूषण वज्राचार्य सम्मिलित पदक विजेता टोली सम्मानित भए ।
त्यस्तै भियतनामको होचिमिन्हमा सम्पन्न आईटीएफ एसियाली १४ एन्ड अन्डर डेभलोप्मेन्ट टेनिस च्याम्पियनसिपको टुर– २ मा पहिलो स्थान हासिल गर्ने नेपाली गल्र्स जोडी एनी माथेमा र इरा राउत पनि सम्मानित भए । उक्त जोडीले फाइनलमा श्रीलंकाली खेलाडी जोडीलाई पराजित गरेको टिम प्रशिक्षक कृष्णराज घलेले जनाएका छन् । टुर– १ मा भने एनी र इराको जोडी सेमिफाइनलमा श्रीलंका र मकाउका खेलाडी जोडीसंग पराजित भएका थिए । संरक्षकले भने टुर– १ मा पाँचौं स्थानमा यात्रा टुंगाएका थिए भने टुर– २ मा कांस्य जितेका थिए । त्यो उपलब्धीसंगै संरक्षक डिभिजन– १ मा पनि बढुवा भएका छन् ।
सोही अवसरमा टिम कपका टिम प्रशिक्षक सूर्यभूषण वज्राचार्य र डेभलोप्मेन्ट टेनिसका टिम प्रशिक्षक कृष्णराज घलेलाई पनि सम्मान गरिएको थियो ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा उनीहरुलाई अखिल नेपाल लनटेनिस संघका अध्यक्ष मनोज राणालगायतले मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए । सो अबसरमा अध्यक्ष राणाले प्रशिक्षक, खेलाडी, संघ अधीकारी र अभिभावक सबैको मिहेनत र प्रयासका कारण यो सफलता हात लागेको बताए । उनले आफू आए पछि जुनियर प्रोग्राममा प्राथमिकता दिएको र आइटिएफले प्रदान गरेको जुनियर इन्सेटिभ कार्यक्रमको कारण  पछिल्लो पुस्ताका खेलाडी उत्कृष्ट रहेको बताए ।

Comment