फुटबल प्रशिक्षक डम्बर गुरुङ सम्मानित

sudarsan

पोखरा
कल्याण शेरचनको स्मृतिमा गठित कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरामा सञ्चालित कल्याण शेरचन समृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को उपाधि  एलजी एशोसिएसनले जितेको छ।
शनिबार भएको फाइनल खेलमा नयाँगल्ली एफसीलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै एलजी एशोसिएसनले उपाधि जितेको हो।  एलजीको जीतमा सन्तोष श्रेष्ठ, सिद्धार्थ रञ्जित र विश्व गुरुङले दुई–दुई तथा प्रदीप गुरुङले एक गोलको योगदान दिएका थिए। विजेता टीमले उपाधिसहित नगद ६५ हजार पाँच सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता नयाँगल्लीले नगद ३५ हजार पाँच सय ५५ मा चित्त बुझायो। यस्तै एलजी एशोसिएसनका प्रदीप गुरुङ उत्कृष्ट खेलाडी घोषित हुँदै नगद तीन हजार पुरस्कार प्राप्त गरे।
विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि पर्यटनविद् झलक थापा, प्रतिष्ठानका प्रमुख संरक्षक शर्मिला शेरचन, संरक्षक नरबहादुर शेरचन, प्रतिष्ठानका अध्यक्ष क्या.पूर्ण ह्योल्मो, इन्द्रबहादुर शेरचन, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, प्रतियोगिता संयोजक डीबी नेपाली,प्रतिष्ठानका कोषाध्यक्ष प्रदीप गौचन, खगेन्द्र गौचनलगायतले पुरस्कार प्रदान गरेका थिए। माघ १८ गतेदेखि सञ्चालित प्रतियोगितामा १६ टीमको सहभागिता रहेको थियो।

सोही अवसरमा समग्र कास्की जिल्ला प्रतिनिधित्व गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भई देशकै गरिमा बढाउन सफल पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक डम्बरसिंह गुरुङलाई सम्मान गरियो। उनलाई कार्यक्रमका प्रमुख अतिथि पर्यटनविद् झलक थापाले दोसल्ला ओढाएर नगद २५ हजारसहित सम्मानपत्रले सम्मान गरेका थिए।
ब्रिटिश गोर्खामा हुँदै सन् १९७४ मा कोरियन प्रशिक्षक च्यानको प्रशिक्षकत्वमा थाइल्याण्डको रजाधानी बैंकक र १९८२ मा जर्मन प्रशिक्षक रुडीको प्रशिक्षकत्वमा भारतको राजधानी नयाँदिल्लीमा भएको अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय टीमबाट प्लेमेकरको भूमिकामा खेलेका गुरुङले कुनै समय आरसिटीबाट फरवार्डको भूमिका निर्वाह गरेका थिए।
ब्रिटिश आर्मीका रिटायर्ड आर्मी गुरुङ एन्फा यु–१४, यु–१६, आर्मी, एपीएफजस्ता ए डिभिजनका क्लबमा प्रशिक्षक भएका थिए। सहारा क्लबमा करिब छ वर्ष निःशुल्क प्रशिक्षण दिएका थिए।
सन् १९८२ मै ब्रिटिश गोर्खा टीमबाट एन्फा कप पनि खेलेका उनी हाल सबै क्षेत्रबाट बिदा लिएर पोखरामै आराम गरिहेका छन्।
कास्की जिल्ला फुटबल सङ्घका भूपू अध्यक्ष खेमबहादुर गुरुङको संयोजकत्वमा गठित छनौट समितिको सदस्यमा रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ र नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने रहेका थिए।
सो अवसरमा नारायणप्रसाद शर्मा, विमल शेरचन, खेमबहादुर गुरुङ, बुद्धिमान गुरुङ धम्पु, वीरेन्द्र शेरचन, महेश गुरुङ र दीपेन्द्र श्रेष्ठलगायतलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो। यस्तै सहारा क्लबद्वारा सम्मानित पूर्व राष्ट्रिय खेलाडी एवं रेफ्री विश्व तण्डुकार र स्व. टंकादेवी कोइराला पत्रकारिता पुरस्कारद्वारा सम्मानित दीपेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो।
सामे अवसरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका कलाकारले कल्याण शेरचनद्वारा स्वरवद्ध विभिन्न गीत तथा दोहोरी गीत प्रस्तुत गरेका थिए।
प्रतिष्ठानका अध्यक्ष क्या. पूर्ण ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक डीबी नेपालीले स्वागत मन्तव्य तथा सञ्चालन सचिव श्रीजंग गुरुङले गरेका थिए।

तस्विरः सुदर्शन रञ्जित

Comment