अन्तर्राष्ट्रिय नेप्लीज तेक्वान्दो र नेपाल तेक्वान्दो सघंबिच सहकार्य

taekk1
नेपालका तेक्वान्दो खेलाडीको खेल स्तर विकासका लागि तेक्वान्दो नेपाल संघले अन्तर्राष्ट्रिय नेप्लीज तेक्वान्दो संघसँग सहकार्य गर्ने भएको छ । अमेरिकाको सिअटल शहरस्थीत दुई संघबिच भएको बैठकबाट नेपालमा तेक्वान्दो खेल विकासका लागि अन्तर्राष्ट्रिय नेप्लीज तेक्वान्दो संघले सहयोग गर्ने भएको छ । अमेरिकास्थित रहेको अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो संघले आफुहरुले नेपाली खेलाडीहरुको अन्र्तराष्टिय एक्सपोजर र तालिम लगायतमा पनि सहयोग गर्ने भएको छ ।
उक्त बैठकमा नेपाली तेक्वान्दो खेलाडीहरुको आगामी साग तथा अन्य अन्र्तराष्ट्रिय प्रतियोगिताहरुको सहभागितालाई कसरी प्रभावकारी बनाई देशलाई पदक दिलाउन सकिन्छ । र आगामी बर्ष सन् २०१७ सेप्टेम्बर २४ देखी २६ तारिखसम्म आयोजना हुने तेस्रो माऊण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितालाई सफलताकासाथ सम्पन्न गर्ने भन्नेबारे बृहत छलफल भएको थियो । उक्त बैठकमा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा र महासचिव दीपराज गुरुङ र अन्तर्राष्ट्रिय नेप्लीज तेक्वान्दो संघका महासचिव तथा गैरआवसीय नेपाली संघ खेलकुद विभाग अध्यक्ष ओलम्पियन नारायण गुरुङको नेतृत्वमा नेपाली तेक्वान्दो खेलाडीको खेल स्तर विकासका लागि छलफल भएको थियो ।
सो अवसरमा एकमात्र एशियाली रजत पदकधारी सबिता राजभणडारी,एशियाली काँस्य पदक विजेता तथा साग स्वर्ण पदक विजेता किशोर श्रेष्ठ, साग स्वर्ण पदक विजेताद्धय निर्मल श्रेष्ठ र निरञ्जन श्रेष्ठ,संघका सहसचिव तथा अन्तराष्ट्रिय निर्णायक अच्युत बासँकोटा,सदस्य पासङ शेर्पालगायत पदाधिकारीको उपस्थित रहेको थियो । कार्यक्रममा खेल सामाग्री तथा विविध विषयमा अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ सहयोगका लागि प्रतिबद्ध रहेको नेपाल तेक्वान्दो संघले जनाएको छ । बैठकले संयुक्त रुपमा आगामी वर्ष नेपालमा आयोजना गरिने तेक्वान्दो अन्तराष्ट्रिय स्तरको सबैभन्दा ठुलो प्रतियोगिता तेस्रो माऊण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपलाई सफलताका साथ सम्पन्न गर्न दुवै पक्षले सहकार्य गर्ने भएका छन् ।
यसअघि आयोजना भएका प्रथम र दोस्रो सस्करण संयुक्त रुपमा आयोजना भएको थियो । अन्तर्राष्ट्रिय सघंले क्यानाडाको भेनकुभरमा विहिबारदेखि हुने विश्व जुनियर तेक्वान्दो प्रतियोगितामा सहभागी नेपाली टोलीलाई पनि सहयोग गर्ने भएको छ । उक्त संघमा रहेका अमेरिकामा बसोबास गर्ने नेपाली तेक्वान्दो खेलाडीले अन्य देशमा रहेका खेलाडीलाई समेत सहभागी गराई बृहत छाता संगठनको रूपमा विस्तार गरेको छ । सघंको अध्यक्षमा सन् १९८८का सिओल ओलम्पिकका कास्यँ पदक विजेता विधान लामा छन् । उनि हाल नेपालमै रहेका छन् ।
अमेरिकाबाटै तेक्वान्दो संघका अध्यक्ष राणा र महासचिव गुरुङ क्यानाडाको भेनकुभरमा आयोजना हुने विश्व तेक्वान्दो महासंघको २७औं महाधिवेशनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

Comment