राष्ट्रिय च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो

Manoj Shiama
12 October, 2026 6:53 pm

१४ औ एनएसए कप पौडी प्रतियोगिता अन्तरगत पुरुष १०० मिटर बटरफ्लाईमा नेपाल पुलिसका एरभिन श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले सौरेन बहादुर सिंहको नाममा रहेको ५८.६४ सेकेन्डको पुरानो राष्ट्रिय कीर्तिमान भङ्ग गर्दै ५७.५१ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । 

पुरुष ४०० मिटर फ्रिस्टाइलमा जेम्सका कल्किन श्रेष्ठले ४ मिनेट १३.२७ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । सो स्पर्धामा पुरानो राष्ट्रिय कीर्तिमान उनकै नाममा ४ मिनेट १४.२४ सेकेन्डको थियो । 

पुरुष १०० मिटर ब्रेस्ट स्ट्रोकमा आइरन फिन स्पोर्ट्सका जेडेन श्रेष्ठले १ मिनेट ४.५५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । दोस्रो स्थानमा रहेका एरभिन श्रेष्ठले पनि जेडेन कै नाममा रहेको पुरानो १ मिनेट ५.८१ सेकेन्डको समय भन्दा कम १ मिनेट ५.६९ सेकेन्ड समयमा पौडेका थिए । 

५० मिटर फ्रिस्टाइलमा एरभिनले २३.८० सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । सो स्पर्धामा पुरानो कीर्तिमान अलेक्जेन्डर शाहको नाममा रहेको २३.९० सेकेन्डको कीर्तिमान भङ्ग गरेका हुन् ।   

नेपाल पौडी सङ्घको आयोजनामा दुई दिने प्रतियोगिता सातदोबाटो स्थित पौडी पोखरीमा भएको हो । बेइजिङमा डिसेम्बर पहिलो साता हुने सर्ट कोर्स विश्व च्याम्पियनसिपको छनोटका लागि यो प्रतियोगिता आयोजना भएको हो ।  

प्रतियोगितामा  ३६ टोलीका १५१ जनाको खेलाड्रीको सहभागिात थियो ।