एन्फाको जर्सी, लोगो र गीत सार्वजनिक,पुराना पुस्ताका खेलाडीको सम्मान


अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो लोगो, राष्ट्रिय टिमले प्रयोग गर्ने जर्सी र फुटबलको गीत सोमबार सार्वजनिक गरेको छ । एन्फाले आयोजना गरेको कार्यक्रममा पोखराका सन्दीप तिवारीले एन्फाको नयाँ लोगो सार्वजिनक गरे । सोही कार्यक्रममा जर्सी र फुटबल गीत पनि सार्वजनिक भयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशव विष्ट, एन्फा अध्यक्ष कर्मा्छिरिङ शेर्पा, केल्मीको नेपालमा आधिकारिक विक्रेताका प्रतिनिधि प्रदीप न्यौपानेलगायतले लोगो एकैसाथ सार्वजनिक गरेका हुन् । एन्फाको लोगो पोखराका सन्दीप तिवारीले तयार पारेका हुन् । गत साउनमा एन्फाले नयाँ लोगोका लागि खुला प्रतिस्पर्धाको आह्वान गरेको थियो । जसबाट सन्दीपले ५७ प्रतिस्पर्धीलाई पछि पारेको हुन् । उनले ५ हजार रुपैयाँ हात पारे । नयाँ लोगोको सबैभन्दा माथि अंग्रेजी अक्षरमा नेपालको नाम रहेको छ । ठीक त्यसैमुनि विश्वको सर्वाेच्च शिखर सगरमाथा र पुछारमा चन्द्र र सूर्य अंकित नेपालको झन्डा छ। कार्यक्रममा पहिलो पुस्ताका नेपाली फुटबलरहरुलाई सम्मान पनि गरियो।

Comment