अन्तरकलेज फुटसल हुने

 शिक्षा क्षेत्रमा काम गर्दै आएको अल्फा विटा कन्सल्टेन्सीले अल्फा विटा अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता मंसिर ६ देखि ८ गतेसम्म शंखमूल फुटसलमा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अल्फा विटाका अध्यक्ष दुईराज शर्माले जानकारी गराए । शर्माले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने लक्ष्यका साथ पहिलो पल्ट औपचारिक रुपमा खेलकुदमा प्रवेश गरेको बताए । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दिपक विष्टलाई संयोजक तोकिएको छ । खड्काले लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा १६ देखि २० टिमको सहभागिता अपेक्षा गरिएको बताए । प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार र तेश्रोले ४० हजार नगद पुरस्कार पाउने छन् । नकआउट चरणदेखिको प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १ हजार नगद पुरस्कार दिइने छ भने सर्वोत्कृष्ट र सर्वाधिक गोलकर्ता खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । पत्रकार सम्मेलनमा दिपक विष्टले खेलकुदमा निजी क्षेत्रको प्रवेशले खेलाडीलाई उत्साहित बनाउनुका साथै खेलकुद विकासमा समेत ठूलो टेवा पुग्ने धारणा व्यक्त गरे । उनले खेलकुदमा निजी क्षेत्रको लगानी प्रशंसनीय रहेको बताए ।

Comment