नेपाल र श्रीलंकाका खेलाडी मैत्रीपूर्ण खेलमा

श्रीलंका र नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएको ६०औं वार्षिकोत्सवको अवसरमा नेपाली राष्ट्रिय टोली र श्रीलंकाका वर्तमान राष्ट्रिय टोलीका केही सदस्य तथा भेट्रान खेलाडी मिश्रीेत टिमबीच काठमाडौंमा ट्वान्टी–२० शृंखला हुने भएको छ । नेपाली टोलीले गोर्खा राइनोज तथा भ्रमणकारी श्रीलकाली टोलीले लंकन लायन्सको नामबाट शृंखला खेल्नेछन् । नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोगमा हुने शृंखलाको सम्पूर्ण व्यवस्थापन पेरिविंकल सर्भिसले गर्ने छ । २५ अप्रिल २५ १ मसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा चल्ने शृंखलामा गोर्खा राइनोज र लंकन लायन्सबीच तीन ट्वान्टी–२० खेल हुनेछन् । गोर्खा राइनोज राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा मैदान उत्रिनेछ भने लंकन लायन्सको नेतृत्व श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडी अरविन्द डी सिल्भाले गर्नेछन् ।
शृंखलाका लागि नेपाल भ्रमण गर्ने लंकन लायन्सको टोलीमा वर्तमान श्रीलंकाली टोलीका खेलाडीहरु उपुल थारंगा, रंगना हेराथ, डिल्शान मुनावेरा, सचित्रा सेनानायक र चामरा शिल्भादारा पनि हुने छन् । यसैगरी सनथ जयसूर्यासँगै चामिन्दा भास, रोमेस कालुविथर्ना, उपुल चन्दना, फरभेज माहरुफ, , दिलहारा फर्नान्डो, कौशल्या वैरारत्ने लगायतका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु पनि टोलीमा छन् ।
यसै अबसरमा राष्ट्रिय टोलीका पूर्व कप्तान उत्तम कर्माचार्यलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ भने महिला राष्ट्रिय टोलीकी पहिलो कप्तान नेरी थापा, नेपाल नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे, नेत्रहिन क्रिकेट टोलीका पुरुष कप्तान कृतन श्रेष्ठ दुवाल र महिला कप्तान भगवती भट्टराई तथा नेपालका पहिलो आईसीसी प्यानल क्रिकेट अम्पायर बुद्धि प्रधानलाई पनि सम्मान गरिनेछ ।

Comment