आर्मी र पुलिस उपाधि होडमा


सर्वाधिक पुरस्कार रासीको दोश्रो पाथिभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल आर्मी र नेपाल पुलिस क्लब उपाधिका लागि शनिवार प्रतिस्पर्धा गर्ने भएका छन् । राउण्ड रबिनको पद्धतीबाट संचालन गरिएको प्रतियोगिताको समिकरणले आर्मी र पुलिस बीच अन्तिम खेल बाँकी रहदा दुवै टोलीले अपराजित रहदै समान ३ खेलबाट ९ अंक जोडेका छन् ।
शुक्रवार भएको पहिलो खेलमा आर्मीले अर्को बिभागिय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराए पछि उपाधि नजिक पुगेको हो । आर्मीका लागि पहिलो सेट निकै चुनौतीपूर्ण बन्यो । निकै उतार–चढाव रहेको पहिलो सेटको सुरुवातमा आर्मीले १२–८ को अग्रता लिएको थियो । क्वीक स्पाईकर महेन्द्र श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा खेलमा फर्किएको एपीएफले अगातार ८ अंक ल्याउदै १६–१२ को अग्रता लियो । ओपन स्पाइकरद्वय मानवहादुर श्रेष्ठ र धनवाहादुर भट्टको उत्कृष्ट प्रदर्शनमा लगातार ६ अंक जोड्दै आर्मीले १८–१६ को अग्रता लियो । पहिलो सेट प्वाइन्टमा पुगेको आर्मीले लगत्तै अर्को अंक जोड्न नसक्दा खेल २४–२४ को अवस्थामा पुग्यो । त्यस पश्चात लगातार २ अंक जोडेको आर्मीले २६–२४ को स्कोरमा पहिलो सेट आफ्नो नाम पार्यो । दोश्रो र तेश्रो सेटमा निरन्तर अग्रता लिएको आर्मीले एपीएफलाई २५–१९ र २५–१७ को सेटमा रोक्यो ।
ताप्लेजुङ नगरपालिका स्थित भानु जन माबीको कोर्टमा भएको चौथो दिनको अन्तिम खेलमा अर्को बिभागिय टोली पुलिसले मध्यामञ्चललाई ३–० को सोझो सेटमा हराउदै उपाधि नजिक पुग्यो । पुलिसले सहज जित निकाल्ने क्रममा मध्यामञ्चललाई २५–९,२५–१६ र २५–१३ को सेटमा स्तब्ध पारेको थियो । प्रतियोगितामा तेश्रो स्थानका लागि एपीएफ र पूर्वाञ्चलबीच शनिवार रोमाञ्चक भिड्न्त हुनेछ । एपीएफले ३ खेलबाट ३ अंक जोडेको छ भने पूर्वाञ्चलको ३ खेलबाट २ अंक छ । चार खेलमै पराजय ब्यहोरेको मध्यामञ्चल १ अंक मात्र जोड्न सफल भयो ।

Comment